२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

जनकपुर, सिमरा र भैरहवामा ४१, काठमाडौंको तापक्रम ३२ डिग्री सेल्सियससम्म पुग्ने

जनकपुर, सिमरा र भैरहवामा ४१, काठमाडौंको तापक्रम ३२ डिग्री सेल्सियससम्म पुग्ने

काठमाडौं- केही दिनयता काठमाडौंसहित देशभरको तापक्रम बढ्नेक्रममा रहेको छ । तापक्रम बढेसँगै गर्मी पनि बढेको छ । काठमाडौंमा आज दिउँसो तापक्रम बढेर ३२ डिग्री सेल्सियससम्म पुग्नेछ ।

‘तापक्रम निरन्तर बढ्ने क्रममा रहेको छ । आज काठमाडौंका ३० देखि ३२ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने सम्भावना रहेको छ,’ मौसमविद् गोविन्द झाले भने ।

तराईका जनकपुर, सिमरा र भैरहवामा आज पनि गर्मी उच्च हुनेछ । यी क्षेत्रमा आज ४१ डिग्रीसम्म तापक्रम पुग्ने सम्भावना रहेको उनले बताए । ‘जनकपुर, सिमरा र भैरहवालगायत क्षेत्रमा ४० डिग्रीसम्म तापक्रम पुगिसकेको छ । आज ४१ डिग्रीसम्म पुग्ने सम्भावना रहेको छ,” मौसमविद् झाले भने, “तापक्रम निरन्तर बढ्नेक्रममा रहेको छ । अझै केही दिन तापक्रम बढ्ने देखिन्छ । कम्तीमा तीन दिन तापक्रम बढ्ने क्रममा रहेको छ ।’

पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहे पनि अधिकांश स्थानमा अझै कम्तीमा तीन दिन वर्षाको सम्भावना नरहेको उनको भनाइ छ । वर्षा नहुँदासम्म गर्मी हुने क्रम पनि बढ्नेछ ।

काठमाडौंमा पनि तापक्रम बढ्ने क्रममा रहेको र पानी नपर्दासम्म यस्तै अवस्था रहने मौसमविद् झाले बताए । काठमाडौंमा कम्तीमा तीन दिन अझै वर्षाको सम्भावना नरहेको उनले जानकारी दिए ।

यसैबीच, देशका केही भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा देशका बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागकोे भनाइ छ ।

आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij