काठमाडौँ- नेपाल राष्ट्र बैंकले हाल दैनिक १० किलो सुन आयात गर्न पाउने व्यवस्थालाई हटाएको छ । राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै अब वाणिज्य बैंकहरूले दैनिक २० किलो सुन ल्याउन पाउने व्यवस्था गरेको हो ।
दैनिक तोकिएको कोटा अनुसार सुन नआएमा त्यही महिनाको कुनै दिन दैनिक तोकिएको कोटामा थप गरी सुन आयात गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसअघि यस्तो व्यवस्था थिएन ।
तर, कुनै एक महिनाको कुनै दिन आयात नभएको सुन अर्काे महिनामा आयात गर्न भने नपाइने व्यवस्था गरिएको छ ।
“व्यतीत भएको कुनै महिनामा दैनिक आयात नभएको सुन अर्काै महिनामा आयात गर्न पाइने छैन भन्नाले कुनै वर्षको एक महिना (उदाहरणका लागि साउन महिना) मा दैनिक तोकिएबमोजिमको परिमाणको सुन आयात नभएमा त्यस्तो सुन तत् (साउन महिना) पश्चात्का महिनाहरूमा आयात गर्न पाइने छैन । तर, कुनै एक महिना (उदाहरणका लागि साउन महिना) को कुनै समयसम्म दैनिक तोकिएबमोजिमको परिमाणको सुन आयात नभएमा सोही महिना (साउन) भित्र त्यस्तो सुन आयात गर्न भने बाधा पर्ने छैन,” सर्कुलरमा भनिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा विदेशी विनिमय सञ्चिति घट्न नदिन राष्ट्र बैंकले सुनको कोटा घटाएको थियो ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij