२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ। असोज ४ गतेदेखि सुरु भएको बैठक आज बिहान ११ बजे बस्न लागेको हो।

आइतबार ३३ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए। केन्द्रीय समितिमा बोल्ने अधिकांश सदस्यहरुले धर्म निरपेक्षतादेखि संघीयताको औचित्यसम्म प्रश्न उठाएका छन्।

प्रत्यक्ष निर्वाचनमै ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने र दलित तथा जनजातिलगायतको सहभागिता पनि प्रत्यक्षमै हुनुपर्ने केन्द्रीय सदस्यहरुको भनाइ छ।

आइतबारको बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले संघले कानुन नबनाउँदा संघीयतामाथि नै प्रश्न उठेको बताए । प्रहरी समायोजन, संघीय निजामती कानुन र जग्गा प्राप्तिको अधिकार तत्काल चाहिने उनको माग छ। कर्णाली प्रदेश सभासदस्य समेत रहेकी जानकी सिंहले प्रदेशलाई अधिकार दिइनुपर्ने अन्यथा प्रदेश खारेज गर्नुपर्ने बताइन्।

प्रदीप पौडेलले कांग्रेसकै मन्त्रीको कार्य प्रगति सन्तोषजनक नभएको बताए । अर्का केन्द्रीय सदस्य शंकर भण्डारीले नेपाली शव्दकोषबाट ॐ शब्द हटाउन लागिएको भन्दै आपत्ति जनाए।

केन्द्रीय सदस्य सरस्वती बजिमयले सरकारले कांग्रेसका नेतालाई छानीछानी भ्रष्टाचारी करार गर्न खोजेको आरोप लगाइन्। युवालाई रोजगारीको अवसर सिर्जना गर्न र युवा मतदातालाई पार्टीमा आकर्षित गर्ने नीति अवलम्बन गर्नुपर्ने केन्द्रीय सदस्यहरुको भनाइ छ।

बैठकको पहिलो दिन महामन्त्री गगनकुमार थापाले प्रस्तावहरु पेश गरेका थिए भने उपसभापति पूर्णबहादुर खड्काले शिक्षा विधेयक र शिक्षक महासंघसँग भएका संवादहरु बारे जानकारी गराएका थिए। त्यस्तै सोही दिन सातै प्रदेशका प्रदेश सभापति सहित ११ जनाले आफ्नो धारणा राखेका थिए।

असोज पाँचमा ४५ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखे।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij