२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

एमाले बागमतीको अधिवेशन आजबाट, ओलीले तोकेको व्यक्ति अध्यक्ष होला कि चुनाव?

एमाले बागमतीको अधिवेशन आजबाट, ओलीले तोकेको व्यक्ति अध्यक्ष होला कि चुनाव?

काठमाडौँ- नेकपा एमाले बागमती प्रदेशको अधिवेशन आजबाट सुरु हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने अधिवेशनले बागमती प्रदेशको नेतृत्व चयन गर्नेछ।

सहमतिमा नेतृत्व चयनका लागि छलफल चलिरहेको छ। तर अध्यक्षमा आकांक्षीको संख्या धेरै देखिएपछि सहमतिको सम्भावना कम हुँदै गएको छ। यद्यपि, सहमतिमा नेतृत्व खोेज्न छलफल जारी रहेको नेताहरूले बताएका छन्।

अध्यक्षमा केन्द्रीय सदस्यहरू कैलाश ढुंगेल, कृष्ण दाहाल र रचना खड्का दौडमा छन्। त्यसरी नै वाग्मती प्रदेश अध्यक्ष केशवराज पाण्डे, सचिव विजय सुवेदी, पूर्वसांसद कृष्णभक्त पोखरेल, वाग्मती प्रदेशसभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठ पनि अध्यक्षका दाबेदार छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व सर्वसम्मत चुन्न दबाब दिइरहेका छन्। एमाले निकट स्रोतका अनुसार उनी कृष्णभक्त पोखरेललाई अध्यक्ष बनाउन लागेका छन्।

पूर्वसांसद पोखरेलको नाम पछिल्लो समय एकदमै चर्चामा छ। कतिपयले एमालेमा सर्वसम्मत बनाउनकै लागि पोखरेलको नाम आएको बताउँछन्।

बागमतीमा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको छुट्टाछुट्टै गुट छ। यसको अलावा एमाले नेता महेश बस्नेत र गोकुल बास्कोटाको समेत उपगुटमा एमाले विभक्त छ। यहाँ नेतृत्व चुनिनका लागि बस्नेत र बास्कोटाको समेत हात रहेको एमाले नेताहरू बताउँछन्।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij