२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

चिनियाँ समकक्षी ली छियाङसँग आज भेटवार्ता गर्दै प्रचण्ड

चिनियाँ समकक्षी ली छियाङसँग आज भेटवार्ता गर्दै प्रचण्ड

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार हाङ्जाउ विमानस्थलमा । तस्बिर : प्रदीपराज वन्त/ रासस

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज चिनियाँ समकक्षी ली छियाङसँग द्विपक्षीय वार्ता गर्दै छन् ।

राजधानी बेइजिङमा हुने भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले छोङछिङ्ग महानगरपालिकामा कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नेछन् । उक्त क्षेत्रमा आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणाली बारेमा पनि जानकारी लिनेछन् ।

भ्रमणको कार्यसूचीअनुसार प्रधानमन्त्री प्रचण्डले चीनको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्नेछन् । उनले चीनस्थित नेपाली राजदूतावासले आयोजना गर्ने चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्नेछन् ।

सम्मेलनमा नेपाल र चीनका उद्योगी व्यवसायीहरूको सहभागिता रहनेछ । सो अवसरमा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै लगानी प्रवर्द्धनका लागि आवश्यक मार्ग प्रशस्त गरिनेछ । सम्मेलनमा सहभागिताका लागि नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा नेपालका उद्योगी व्यवसायीहरू पनि त्यहाँ पुगेका छन् ।

त्यसपछि प्रधानमन्त्री प्रचण्ड नेपालसँग सिमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानेछन् । तिब्बतमा रहँदा पनि उनले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड आफ्नो प्रतिनिधिमण्डलसहित यही सेप्टेम्बर ३० मा नेपाल फर्कने कार्यक्रम छ ।

चीनको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड शनिबार चीन पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij