काठमाडौँ- प्रधानमन्त्री प्रचण्ड आज न्युयोर्कबाट सिधै चीन जाँदैछन्। चीनका समकक्षी ली क्वानको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड आज हाङझाव जान लागेका हुन्।
न्युयोर्कबाट स्थानीय समयअनुसार आज राती साढे १ बजेको फ्लाइटबाट प्रधानमन्त्री नेतृत्वको टोली हाङझाव प्रस्थान गर्ने उनको सचिवालयले जानकारी दिएको छ।
हाङझावमा प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति सी चिनफिङसँग भेट्ने कार्यक्रम छ। भोलीदेखि सुरू हुने एसियाली खेलकुदको उद्घाटन समारोहमा सरिक भएपछि प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीबीच भेट्ने कार्यक्रम छ।
चीनको सात दिने भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले समकक्षी ली क्वान र चीनको नेशनल कंग्रेसका अध्यक्ष झाओ लेजीसँग बेइजिङमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
बेइजिङस्थित नेपाली राजदूतावासको कार्यालयमा उद्योग वाणिज्य महासंघ र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद्ले संयुक्त रूपमा आयोजना गर्ने नेपाल-चीन लगानी सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन्।
त्यसपछि प्रधानमन्त्री प्रचण्डले चोङकिङ नगरपालिकामा कृषी र औद्योगिक विकासको निरीक्षण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण टोलीमा स्वकीय सचिव गंगा दाहाल, परराष्ट्र मन्त्री एनपी साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, योजना आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठ लगायत सरकारी अधिकारी र उद्योग वाणिज्य महासंघका पदाधिकारीहरू छन्।
नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको भ्रमण गरी ३० सेप्टेम्बरमा प्रधानमन्त्री नेतृत्वको टोली स्वदेश फर्कनेछ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij