२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

यू-१९ साफ च्याम्पियन : नेपाल-पाकिस्तान भिड्दै

यू-१९ साफ च्याम्पियन : नेपाल-पाकिस्तान भिड्दै

काठमाडौं : साफ अन्डर नाइन्टिन च्याम्पियनसिप आजदेखि काठमाडौंमा सुरु हुँदैछ।

दशरथ रंगशालामा हुने उद्घाटन खेलमा दिउँसो साढे १ बजे बंगलादेश र भारत आमने–सामने हुनेछन्। नेपाल र पाकिस्तानको खेल साँझ साढे ५ बजे सुरु हुनेछ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको प्रि–म्याच कन्फरेन्समा नेपालका कप्तान जियारथ शेखले छोटो तयारीका बाबजुद टिम लयमा रहेको बताएका छन्।

समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। पाकिस्तानी टोली बुधबार मात्र काठमाडौं आइपुगेको छ। पाकिस्तान पहिलोपटक यो प्रतियोगितामा सहभागी हुन लागेको हो।

यसअघि अन्डर–ट्वेन्टी र अन्डर–एटिन फर्म्याटमा भएका प्रतियोगितामा नेपाल र भारत समान दुई–दुईपटक च्याम्पियन बनेका छन्। नेपाल सन् २०१५ मा घरेलु मैदानमा भएको पहिलो संस्करण र २०१७ मा च्याम्पियन बनेको थियो।

भारत पछिल्ला दुई संस्करणको विजेता हो। दुवैपटक नेपाल फाइनल पुग्न नसक्दा बंगलादेश उपविजेता बनेको थियो। यसपटक देशभरबाट छानिएका दुई सय खेलाडीमध्येबाट नेपालको टिम तयार पारिएको छ। पछिल्लो समय भारतले साउदी अरेयिबासँग दुई अभ्यास खेल खेलेको थियो। योपटक पनि सहभागी ६ टिममध्ये आफू बलियो दाबेदार भएको भारतीय टिमका प्रशिक्षक सुवेन्दु पाण्डाको भनाइ छ।

साफका लागि बंगलादेशले चार साताको अभ्यास गरेको छ। माल्दिभ्सले बाँकी टिमको तुलनामा व्यावसायिक खेलाडी ल्याएको छ। भुटानले पनि राम्रो तयारीका साथ नेपाल आएको बताएको छ। ६ टोली सहभागी प्रतियोगितामा नेपाल रहेको समुहमा माल्दिभ्स र पाकिस्तान छन्।

समूह बीमा भारत, बंगलादेश र भुटान रहेका छन्। समूहका शीर्ष २ टोली सेमिफाइनल प्रवेश गर्नेछन्।

नेपाली टोलीमा को-को

साफ च्याम्पियनसिप खेल्ने नेपालको अन्तिम टोलीको घोषणा भएको छ। यसअघि वैकल्पिक खेलाडीसहित २५ खेलाडी राखिएकामा प्रशिक्षक सुनील श्रेष्ठले बुधबार दुई खेलाडीलाई हटाउँदै नेपाली टोली घोषणा गरेका हुन्।

प्रशिक्षक श्रेष्ठले नीरज कार्की र निशान्त तामाङलाई बाहिर राखेका छन्। नेपाली टिमको गोलकिपरमा जियारथ सेख, रुबिन बोगटी र अमित टमटा छन्।

त्यसैगरी डिफेन्समा सेमन्त थापा, विशाल नेपाली, विक्रम तामाङ, आयुष तिम्सिना, अश्विन घोरासैनी, दीपक थापामगर, निन्शाङ पाराङ्देन र गौरव महर्जनले खेल्नेछन्।

मिडफिल्डर कुशल देउवा, लक्षु थापा, प्रशान्त लक्सम, अविनाश स्याङ्तान, अनिल बोम्जन, धनसिंह विके, हरिषराज भट्ट र नेल्सन तामाङ टिममा पर्न सफल भएका छन्। नेपाली टिममा फरवार्डको जिम्मेवारी समीर तामाङ, नीरञ्जन धामी, सुजन डंगोल र सिद्धार्थ अधिकारीले सम्हाल्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij