२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

इमाडोलका उद्योगहरुमा बाढीबाट करोडौंको क्षति

इमाडोलका उद्योगहरुमा बाढीबाट करोडौंको क्षति

ललितपुर । अविरल वर्षासँगै आएको बाढीले यहाँको ललितपुर महानगरपालिका–२, इमाडोल क्षेत्रमा ठूलो परिमाणमा क्षति पुर्‍याएको छ ।

यस क्षेत्र भई बग्ने खोला छेउका घर, पसल, कलकारखाना र बस्तीमा पानी पसेर करोडौं मूल्य बराबरको भौतिक सम्पत्ति नष्ट भएको अनुमान गरिएको छ ।

दुई दिनको वर्षापछि उर्लेर आएको भेलले ललितपुर महानगरपालिका–२ इमाडोलमा सञ्चालित ग्लोबल प्याकेजिङ इन्डष्ट्रिज प्रालिको मात्र एक करोड ६० लाख बराबरको धनमाल नोक्सान भएको प्रारम्भिक अनुमान छ । कारखानाका सञ्चालक राजेश श्रेष्ठका अनुसार बाढीले कच्चा पदार्थ, तयारी सामान र मेसिनहरूमा ठूलो क्षति पुर्‍याएको छ ।

उनले भने, ‘केही मेसिनहरू पूर्णरूपमा नष्ट भएका छन् भने केही मर्मत हुने सम्भावना न्यून छ । दसैँका लागि बजार पठाउन तयार पारिएका र अन्तिम चरणका अर्डरहरू समेत बाढीले सखाप बनायो ।’ कारखानामा २० वर्षदेखि काम गरिरहेकी लक्ष्मी प्रधानले बाढीले पुर्‍याएको नोक्सानीप्रति दुःख व्यक्त गरिन् ।

उनले भनिन्, ‘कोरोनापछि बल्लतल्ल कामले गति लिँदै थियो । बेलैमा काम सकेर दसैँमा घर झापा जाने तयारीमा थिएँ तर, एकाएक पानी पसेर कारखानाका सबै सामान बर्वाद बनायो ।’ पहिलो पटक आफूले यस्तो विपत्ति देखेको पनि उनको अनुभव छ ।

‘पहिला अलिअलि पानी बगेर आउँथ्यो तर, यसपल्ट सामान मात्रै होइन, मान्छे नै बगाउने गरी पानी बढ्दा डर लाग्यो’, गएको दुई वर्षदेखि काम गर्दै आएका अर्का कामदार गोकुल दुलालले आफ्नो अनुभव सुनाए । बाढीले इमाडोलमै रहेको अर्काे प्रिन्टिङ प्रेसलाई पनि ठूलो नोक्सान पारेको छ । प्रेस सञ्चालक कृष्णमान श्रेष्ठ भौतिक सम्पत्तिको नोक्सानीले चिन्तित छन् ।

करिब  एक करोड ५० लाख बराबरको सम्पत्ति नोक्सान भएको उनले बताए । उनले भने, ‘यसअघि कहिल्यै यति ठूलो बाढी आएको थिएन । पानीले कारखाना र गोदाममा रहेका सबै सामान काम नलाग्ने बनाइदियो । भाग्यवश घर बग्नबाट भने जोगियो ।’

शनिबार बेलुकीदेखि पानीको सतह घटेपछि बाढीबाट जोगिएका पीडित अहिले आआफ्नो सरसामान स्याहार्न जुटिरहेका छन् । यहाँका बासिन्दा आवासीय घर, पसल तथा कारखानामा जमेको लेदो सफा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij