त्रिशूली । छहरे–टोखा सडक खण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाँउपालिका–७ मा आज माइक्रोबस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए।
उनका अनुसार काठमाडौँबाट नुवाकोट हुँदै पोखरा जाँदै गरेको माइक्रोबस अपरान्ह एक बजे अदुवारीमोडमा अनियन्त्रित हुँदा सडकबाट अन्दाजी ५० मिटर तल पुगेको घटनास्थल पुगेका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।
उनका अनुसार उक्त गाडीमा १८ जना सवारिमध्ये गम्भीर दुईसहित १२ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ । पृथ्वीराजमार्ग कम्पनी प्रालिमार्फत सञ्चालित ग १ ख ४५३५ नं. माइक्रोबस धादिङको विभिन्न स्थानमा गएको पहिरोका कारण काठमाडौँको टोखाबाट नुवाकोट हुँदै धादिङको गल्छी निस्केर पोखरा जाने क्रममा नुवाकोटमा दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार दुर्घटनास्थलमा ठूलोभीर भएपनि मौवाको रुखमा गाडी अड्किएकाले ठूलो क्षति हुनबाट जोगिएको हो ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij