२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

उपमेयर बनेपछि अमेरिका पुगेर लुकेकी नेपालीले भेटिन् प्रधानमन्त्रीलाई

उपमेयर बनेपछि अमेरिका पुगेर लुकेकी नेपालीले भेटिन् प्रधानमन्त्रीलाई

काठमाडौँ- एक कार्यक्रममा भाग लिन भनी अमेरिका गएपछि उतै पलायन भएकी कालीकोटको तिलागुफा नगरपालिकाकी तत्कालीन उपमेयर दन्ता नेपालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको तस्बिर सार्वजनिक गरेकी छन्।

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री प्रचण्डसँग खिचेको तस्बिर दन्ताले सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्।

‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई अमेरिकामा हार्दिक स्वागत छ। संयुक्त राष्ट्र संघको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क प्रस्थान गर्नु भएको छ’, क्याम्पसनमा उनले लेखेकी छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू तथा भ्रमण दलका सबै सदस्यहरूलाई भ्रमण सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। अमेरिकामा हार्दिक स्वागत। अमेरिकाको बसाइ सुखद रहोस्, हार्दिक शुभकामना!’

दन्ता २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उपमेयर बनेकी थिइन्। यसपछि उनी एक गोष्ठीमा भाग लिन भन्दै २०७६ कात्तिक पहिलो साता अमेरिका उडेकी थिइन्।

तर त्यसयता उनी सम्पर्कमा आइनन् भने सञ्चारमाध्यमले उपमेयर दन्ता अमेरिकामै लुकेर बसेको भनेर समाचार लेखेका थिए। त्यसपछि दन्ताले समाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै आफू बिरामी भएका कारण नेपाल फर्किन नसकेको र उपचारका लागि अझै पाँच महिना बस्नुपर्ने बताएकी थिइन्। तर, अहिलेसम्म उनी नेपाल फर्किएकी छैनन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij