२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन काउन्सिलले थाल्यो प्रक्रिया

नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन काउन्सिलले थाल्यो प्रक्रिया

 

काठमाडौँ । नेपाली इञ्जिनीयरको योग्यतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुलेको छ । यसका लागि नेपाल इञ्जिनीयरिङ काउन्सिलले प्रक्रिया अघि बढाएको हो ।

इञ्जिनीयरहरुको अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्ने निकाय वासिङ्टन एकडका अध्यक्ष काई साङ् लकसँग सोमबार प्रारम्भिक अन्तरक्रिया भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यमा भएको उक्त छलफलमा विभिन्न विश्वविद्यालयका पदाधिकारीले यो प्रक्रियालाई अघि बढाउनुपर्नेमा जोड दिए ।।

कार्यक्रममा मन्त्री दाहालले नेपाली इञ्जिनीयरहरुको योग्यतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाका लागि आवश्यक नीतिगत तथा कानुनी प्रक्रियाका लागि मन्त्रालय तयार रहेको बताए ।

‘यो प्रक्रिया अघि बढाउन ढिला भएको छ’,उनले भने, ‘तर ढिलै भए पनि प्रक्रियाको थालनी भयो, सबै मिलेर यसलाई अवरुद्ध हुन नदिइ पूरा गर्नुपर्छ ।’

कार्यक्रममा वासिङ्टन एकडका अध्यक्ष काई साङ् लकले नेपालले थालेको प्रक्रिया पूरा हुनेमा विश्वास व्यक्त गरे । उनले इञ्जिनीयरिङ क्षेत्रमा अन्वेषण, अनुसन्धान तथा नवप्रवर्तनमा जोड दिनुपर्ने बताए ।

त्रिभुवन विश्वविद्यालय इञ्जिनीयरिङ अध्ययन संस्थानका प्राडा नरेन्द्रमान शाक्यले नेपालमा इञ्जिनीयरिङ शिक्षा तथा पेसागत अवस्थाका बारेमा आफ्नो प्रस्तुति राखेका थिए ।  एकडमा आवद्ध राष्ट्रहरुका इञ्जिनीयरहरुले सदस्य राष्ट्रमा समान हैसियत पाउने भएकाले यसबाट नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रियस्तरमा सम्मानजनक अवसर प्राप्त हुने सो अवसरमा जानकारी दिइयो ।

काउन्सिलका अध्यक्ष पदमबहादुर शाहीले नेपालका शैक्षिक संस्थाबाट उच्च शिक्षा लिए पनि अन्तर्राष्ट्रिय सम्बन्धन र स्वीकृति नपाइरहेको अवस्थामा यो प्रक्रियाको थालनी गरिएको बताए ।

यो प्रक्रिया पूरा हुन चारदेखि १० वर्षसम्म लाग्ने भए पनि प्रक्रियाको थालनीले नेपाली इञ्जिनीयरिङ क्षेत्रलाई आशावादी बनाएको उनले उल्लेख गरे । यो प्रक्रियाको थालनीले नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुलेको अध्यक्ष शाहीको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij