२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण

ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण

काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले धनुषाको ढल्केवरमा रहेको ढल्केवर सबस्टेसनको अनुगमन तथा निरीक्षण गरेका छन् ।

उनले सोमबार नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानीमा निर्मित ४०० केभीको सबस्टेसन र विश्व बैङ्कको सहुलियतपूर्ण ऋण एवं नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्मित २२० र १३२ केभी ढल्केबर सबस्टेसनको अनुगमन तथा निरीक्षण गरेका हुन् ।

नेपालको सबैभन्दा ठूलो ढल्केवर सबस्टेसन ४०० केभीको ‘जिआइएस’ प्रविधिबाट निर्माण गरिएको छ । उक्त सबस्टेसनबाट बर्सातको समयमा नेपालबाट भारतमा विद्युत् निर्यात र हिँउदमा भारतबाट नेपालमा विद्युत् आयात गरिँदै आएको छ ।

निरीक्षणका क्रममा मन्त्री खड्काले ढल्केवरबाट हेटौँडा जोड्ने प्रसारण लाइनको काम चाँडो सम्पन्न गर्न निर्देशन दिए । उनले मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि आन्तरिक खपत बढाउनुपर्ने बताए ।

सङ्खुवासभामा निर्माण भइरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् ढल्केवर सबस्टेसन हुँदै भारतको सीतामणी जोड्नका लागि प्रसारण लाइन निर्माणको काम भइरहेको छ ।

यस्तै, सोही सबस्टेसनबाट मकवानपुरको हेटौँडा र सुनसरीको इनरुवा सबस्टेसन जोड्नेगरी प्रसारण लाइन तथा सबस्टेसन निर्माणको काम भइरहेको ढल्केवर ग्रिड महाशाखा प्रमुख विनोद लोहनीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij