काठमाडौँ- एमाले अध्यक्ष केपी शर्मा ओलीले दिवंगत संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ सफल राजनेता भएको टिप्पणी गरेका छन् ।
‘उहाँ एउटा सफल राजनेताको रूपमा राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा समेत ख्यातिप्राप्त हुनुहुन्थ्यो,’ ओलीले भने ।
नेपालको इतिहासमा नेम्वाङको तुलना अन्य कुनै सभामुखसँग पनि नहुने ओलीको भनाइ छ । उनले नेम्वाङले दलीय स्वार्थभन्दा माथि उठेर संसद चलाएको र संसदको गरिमा बढाएको उनको भनाइ छ । नेम्वाङ संविधान र कानुन उल्लंघन गर्नु नहुने मान्यतामा रहेको उनले बताए ।
‘अहिलेसम्मको इतिहासमा हेर्ने हो भने उहाँसँग कसैको तुलना हुँदैन । उहाँ चुनिएपछि वास्तवमै दलीय स्वार्थभन्दा माथि उठेर, वास्तवमै संसदीय गरिमा बढाउन, संवैधानिक इमान्दारिता र कानुनको हिसाबले चल्नुपर्छ । आफूले आफैँलाई पनि कानुनमा बाँध्नुपर्छ । कानुनको उल्लंघन गर्नु हुँदैन भन्ने उहाँको मान्यता थियो,’ ओलीले भने ।
नेम्वाङ सामुदायिक विद्वेषको विरुद्धमा रहेको ओलीले बताए । नेपालको विविधतायुक्त नेपाली समाजलाई नेम्वाङले राम्रोसँग चिनेको ओलीको भनाइ छ । नेम्वाङ सामाजिक सद्भाव, सामाजिक न्याय र सामाजिक सद्भावका साथ राष्ट्रिय एकताको पक्षमा रहेको उनले बताए ।
‘उहाँ सामुदायिक विद्वेषजस्ता कुराहरूका विरुद्धमा । उहाँले नेपाल चिन्नुभएको थियो । नेपाली जनता चिन्नुभएको थियो र उहाँ विविधतायुक्त नेपाली समाज, विविधतालाई गलत ढंगले प्रयोग नगर्ने उहाँ सधैभरी सामाजिक सद्भावको पक्षमा, सामाजिक न्याय र सामाजिक न्यायमा आधारित सद्भाव र त्यसमा आधारित राष्ट्रिय एकताको पक्षमा हुनुहुन्थ्यो,’ ओलीले भने ।
नेम्वाङ सधैँभर न्यायको पक्षमा उभिएको ओलीले स्मरण गरे ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij