२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

धरानका उपप्रमुख बेघाको घर तोडफोड गर्ने एकजना पक्राउ, अन्यको खोजी हुँदै

धरानका उपप्रमुख बेघाको घर तोडफोड गर्ने एकजना पक्राउ, अन्यको खोजी हुँदै

काठमाडौँ- धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको घरमा तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

धरान उपमहानगरपालिका १५ स्थित खिरिया बस्तीमा पुगेर मंगलबार दिउँसो एउटा समूहले बेघाको घरमा तोडफोडसहित आक्रमण गरेको थियो।

सुनसरी प्रहरीका एसपी बिपिन गौतमले घटनामा संलग्न एक जनालाई मंगलबार साँझ पक्राउ गरिएको जानकारी दिए। पक्राउ पर्नेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।

‘आक्रमणमा संलग्न एकजना पक्राउ परेका छन्, अन्यको खोजी भइरहेको छ,’ एसपी गौतमले भने, ‘हामी उनीहरुलाई पनि चाँडै पक्राउ गर्ने छौँ।’ घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए। राजनीतिक कारण भन्दा अन्य विवादको कारण उपमेयर बेघाको घरमा तोडफोड भएको अनुमान प्रहरीले गरेको छ।

तोडफोडबाट बेघाको घरको झ्यालका शिशाहरु फुटेको छ। उपप्रमुख बेघाका भाइ विष्णुलाई कुटपिट गर्न पुगेको समूहले घर तोडफोड गरेको हो। घर तोडफोड हुनेबित्तिकै खबर गरिए पनि प्रहरी इलाका प्रहरी कार्यालय धरानका डीएसपीले बेवास्ता गरेको आरोप बेघाले लगाएका छन्।

एसपी गौतमले भने बेघाको घरमा तोडफोड हुँदा तत्काल प्रहरी नपुगेकोबारेमा छानबिन गरिने बताएका छन्।

उपप्रमुख बेघाले पनि राजनीतिक कारणले नभइ व्यक्तिगत कारणले आफ्नो घरमा तोडफोड भएको बताएका छन्। आक्रमणमा परी घाइते भएका बेघाका कान्छा भाइ विष्णु बेघाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij