२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

नर्वेका सांसद्को टोलीद्वारा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिसँग छलफल

नर्वेका सांसद्को टोलीद्वारा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिसँग छलफल

 

काठमाडौँ । नर्वेका सांसदहरुको एक टोलीले प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँग सिंहदरबारमा बिहीबार छलफल गरेको छ ।

दुई देशका संसदीय समितिबीच पहिलोपटक छलफल भएको पर्यटन समितिका सभापति राजकिशोर यादवले बताए । उनले संसदीय कूटनीतिका रुपमा भ्रमण र भेटघाट भएको उल्लेख गरे ।

छलफलमा दुवै संसदीय टोलीका सदस्यहरुले नेपाल र नर्वेबीचको मैत्रीपूर्ण र सुमधुर सम्बन्ध तथा सहकार्यबारे चर्चा गरेका थिए । बैठकमा संसदीय शासन प्रणालीको सञ्चालन, लोकतान्त्रिक प्रक्रिया तथा साझा विश्वव्यापी एजेन्डाका लागि सहकार्य गर्नेबारे कुराकानी भएको थियो ।

लोकतन्त्र, मानवअधिकार र सामाजिक न्यायका साझा मूल्यमान्यतामा मिलेर काम गर्ने प्रतिबद्धता दुवै देशका सांसदहरुले व्यक्त गरेका छन् ।

जलवायु परिवर्तनका प्रभावहरुको न्यूनीकरण र दिगो विकास लक्ष्य हासिल गर्न अन्तर्राष्ट्रिय मञ्चहरुमा सहकार्य गर्ने सहमति नेपाल र नर्वेबीच भएको छ । त्यस क्रममा सभापति यादवले नेपालको सङ्घीय संसद्को गठन प्रक्रिया, सङ्ख्या तथा संसदीय समितिहरुको काम र क्षेत्राधिकारबारे भ्रमण टोलीलाई जानकारी दिएका थिए ।

उनले नेपालको संसद्मा जनताका आवाजले ठाउँ पाउनुका साथै त्यहाँ उठेका सवालहरुको सम्बोधन गर्ने गरिएको बताए ।

नर्वेका पूर्वविदेशमन्त्री, रक्षामन्त्रीसमेत रहेकी सांसद इने म्यारी एरिक्सन सोरेइडको नेतृत्वमा १४ सदस्यीय टोली नेपाल भ्रमणमा आएको छ । कञ्जरेभेटिभ पार्टीकी सांसद उहाँले सन् २०१३ देखि ०१७ सम्म रक्षा र सन् २०१७ देखि २०२१ सम्म विदेशमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij