काठमाडौं । स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले यही भदौ २८ र २९ गते काठमाडौंमा नेपाल युथ समिट (युवा सम्मेलन)आयोजना गरिने भएको छ ।
राष्ट्र निर्माण मञ्च नेपालको आयोजनामा काठमाडौं चावहिलस्थित दुर्गा पार्टी भेन्युमा हुने समिटमा देशभरका करिब पाँचसय युवाको सहभागिता रहने कार्यक्रम संयोजक भुपेन्द्रजंग शाहीले जानकारी दिए ।
‘नेपाली युवाहरूलाई स्वदेशमै केही गर्न सकिन्छ र समुन्नत र समृद्ध नेपालको चाहनालाई पूरा गर्न युवाहरूको भूमिका अतुलनीय रहन्छ भन्ने कार्यक्रमको अभिप्राय हो । समिटको उद्देश्य भनेको समाजका बिभिन्न क्षेत्रका स्थापित र सक्षम युवाहरुको बृहत भेला, एकता र सहकार्यमार्फत, नयाँ बिचार, युवाको क्षमता बिकास, साझा एजेण्डा, देशमै रोजगारी सृजनाको बाताबरण, उधमशिलता र नवप्रवर्द्धन, समाजमा सकारात्मक परिवर्तन र राष्ट्र निर्माणको साझा सङ्कल्प गर्नु हो,’ संयोजक शाहीले भने ।
समिटमा विभिन्न क्षेत्रमा विशिष्ट भुमिका निर्वाह गरिरहेका युवाहरूले भाग लिने कार्यक्रम तय भएको छ । समिटमा आर्थिक, समाजिक, सांस्कृतिक, राजनीतिक, उद्यमशीलता, आप्रवासन, युवा सरोकार, खेलकुदलगायत विभिन्न विषयहरूमा विषयगत छलफल गरी राष्ट्र निर्माणमा साझा संकल्पसहितको सातबुँदे घोषणापत्रसमेत जारी गर्ने राष्ट्र निर्माण मञ्च नेपालका अध्यक्ष निर्मल कुमार उप्रेतिले जानकारी दिए ।
समिटमा देशभरबाट उत्कृष्ट युवा उद्यमी, व्यावसायी, चिकित्सक, पत्रकार, खेलाडी, कलाकार, जनप्रतिनिधिलगायतको उपस्थिति रहने पनि उनले जानकारी दिए । दुई दिनसम्म चल्ने समिटमा फरक एजेन्डाहरुमा विभिन्न सत्रहरु चल्नेछन् । समिटमा चर्चित उद्योगी विनोद चौधरी, उद्योग वाणिज्य संघकी पूर्वअध्यक्ष भवानी राणा, बैंकर्स भरत ढकाल, चर्चित उद्यमी विदुषी राणा, बैंकर्स मनोज ज्ञवालीलगायत विभिन्न क्षेत्रका विज्ञहरु, युवा उद्यमीहरु, सामाजिक अभियन्ताहरु, जनप्रतिनिधिहरु वक्ताको रुपमा रहने आयोजकले जनाएको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij