काठमाडौं । नेपाल चिकित्सक संघले सार्वजनिक बिदाको दिनमा पनि सरकारी अस्पतालमा बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्न सरकारले दिएको निर्देशनप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
मंगलबार संघका महासचिव डा. सञ्जीव तिवारीले विज्ञप्ति जारी गरी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको शारीरिक तथा मानसिक स्वास्थ्यको बेवास्ता गर्दैै सरकारले गरेको निर्णय अव्यवहारिक र अवैज्ञानिक भएको बताएका हुन् । संघले सरकारले यो निर्णय फिर्ता लिन पनि माग गरेको छ ।
संघले सरकारी अस्पतालमा २०४८ सालदेखि दरबन्दी थप नभएको र अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक जनशक्ति तथा सेवा सुविधा न्यून रहेको बताएको छ । संघले स्वास्थ्यकर्मीलाई आराम गर्नका लागि हप्ताको दुई दिन बिदा दिने अन्तर्राष्ट्रिय प्रचलन रहेको तर नेपालमा सार्वजानिक बिदाको दिनमा पनि ओपीडी सेवा सञ्चालन गर्ने निर्णय गर्नु अवैज्ञानिक भएको ठहर गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही ठूला सरकारी अस्पताल र प्रयोगशालालाई सार्वजनिक बिदाको दिनमा पनि बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन गदिएको थियो ।
मन्त्रालयले ३४ अस्पताल र प्रयोगशाला लगायतका स्वास्थ्य निकायलाई सार्वजनिक बिदाको दिनमा पनि बहिरङ्ग सेवा सञ्चालन गर्न परिपत्र गरेको थियो ।
यसरी मन्त्रालयले परिपत्र गरेपछि चिकित्सक संघले अपत्ति जनाएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले केही दिनअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र पठाउँदै सार्वजनिक बिदाको दिनमा अस्पतालले बहिरङ्ग सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएको थियो ।
मन्त्रालयकाअनुसार परिपत्र गरिएका अस्पतालहरुमा वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, भेरी अस्पताल, राष्ट्रिय क्षयरोग केन्द्र, कोशी अस्पताल, नेपाल आँखा अस्पताल, कान्ति बाल अस्पताल, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत छन् ।

© 2026 All right reserved to samajpress.com | Site By : Sobij