२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

श्रीकृष्ण जन्माष्टमी पर्वले आपसी सद्भाव बढाउँछ : राष्ट्रपति पौडेल

श्रीकृष्ण जन्माष्टमी पर्वले आपसी सद्भाव बढाउँछ : राष्ट्रपति पौडेल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गर्ने विश्वास व्यक्त गरेका छन्।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले यो पर्वले धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्न सहयोग पुर्‍याउने अपेक्षासमेत गरेका छन्।

‘यस पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्न सहयोग पुर्‍याउने अपेक्षा लिएको छु,’ उनले भनेका छन।

विश्वभर हिन्दू धर्मावलम्बीले भक्तियोग, ज्ञानयोगर कर्मयोगका प्रणेताभगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक यो पर्व मनाउने गर्दछन्। द्वापर युगमा दुर्जनको विनास र सज्जनको रक्षा गर्नका लागि वासुदेव र देवकीको आठौँ सन्तानका रूपमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रही आएको छ।

विश्वलाई कर्मयोगमा लाग्न प्रेरित गर्दै काम, क्रोध, लोभ, मोहजस्ता कुभावना त्याग गरी समाजमा सद्भाव कायम गर्न उत्प्रेरित गरिएको भगवान् श्रीकृष्णको महिमायुक्त गीता ज्ञानले समाजलाई सही दिशा दिन योगदान दिएको छ।

‘श्रीकृष्ण जन्माष्टमी पर्वले हामी सम्पूर्ण नेपालीमा आपसी सद्भाव, दया, नैतिक आचरण, करुणा र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु,’सन्देशमा राष्ट्रपति पौडेलले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij