२०८३ कार्तिक ८ शनिबार

Oct 24 2026 Saturday

२०८३ कार्तिक ८ शनिबार

खोलाले बगाउँदा अरुण तेस्रोका मजदुर बेपत्ता

खोलाले बगाउँदा अरुण तेस्रोका मजदुर बेपत्ता

सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुरलाई खोलाले बगाउँदा बेपत्ता भएका छन्।

अरुण तेस्रोको विद्युत् गृहस्थल चिचिला गाउँपालिका–३ पुखुवामा कार्यरत मजदुर खाँदबारी नगरपालिका–४ सेकाहाका अन्दाजी ४५ वर्षीय गङ्गाबहादुर गुरुङ बेपत्ता भएका छन्।

शनिबार बिहान साढे ७ बजे गुरुङलाई कागुवा खोला तर्ने क्रममा बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिशेककुमार श्रेष्ठले जानकारी दिए।

अरुण तेस्रोको विद्युत् गृहस्थल पुखुवादेखि बिदामा घर फर्किँदै गरेका गुरुङ खोला तर्ने क्रममा कागुवा बगाउँदा बेपत्ता भएका हुन्। बेपत्ता भएका गुरुङको नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

अरुण तेस्रो विद्युत् आयोजनामा नेपाली र भारतीयसहित तीन हजार बढी मजदुर कार्यरत छन्। अरुण तेस्रो विद्युत् आयोजनाको काम भारतीय कम्पनी सतलज एसजेभिएनले गरिरहेको छ।

आयोजनाबाट नेपालले २१ दशमलव नौ प्रतिशत अर्थात् एक सय ९७ मेगावाट बिजुली निःशुल्क पाउनुका साथै रोयल्टी र अन्य कर गरी अर्बौं रुपैयाँ पाउनेछ। आयोजना बनाउन रु एक खर्ब १५ अर्ब लाग्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij