टेक्सस । अमेरिकी प्रहरीले भर्जिनिया राज्यको मनासस पार्कबाट वेपत्ता भएकी नेपाली नर्स ममता काफ्लेका पति नरेशदत्त भट्टलाई पक्राउ गरेको छ । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार श्रीमती ममताको शव लुकाएको आरोपमा नरेशलाई पक्राउ गरिएको हो ।
ममता गत साउन १६ गतेदेखि हराइरहेकी थिइन् । सुरुमा ममता हराएको बारे प्रहरीलाई बताउन नचाहेका नरेशसँग प्रहरीले साउन १८ मै घरमै पुगेर बयान लिएको थियो । साउन २१ मा औपचारिक रुपमा नरेशले प्रहरीमा आफ्नो श्रीमती खोजिदिन आग्रह गरेका थिए । प्रहरीले भने ममता वेपत्ता प्रकरणमा संदिग्ध देखिएका कारण नरेशलाई पक्राउ गरेको जनाएको छ । कमनवेल्थ न्यायाधिवक्ताको कार्यालयले गुप्तचरहरुलाई अनुसन्धानका लागि नरेशलाई पक्राउ गर्न सहमति दिएको थियो ।
नरेश र ममताकी एक वर्षीया छोरीलाई स्थानीय स्याहार केन्द्रमा राखिएको छ । प्रहरीले अनुसन्धानमा नरेशबाट पर्याप्त सहयोग नभएको र शंकाको सुईपनि उनीतिर तेर्सिएको बताएको छ । काभ्रेको पनौती माइती भएकी ममताले महेन्द्रनगरका नरेशसँग प्रेम विवाह गरेकी थिइन् । नरेश अमेरिकी सेनामा कार्यरत थिए ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij