काठमाडौँ- विभिन्न प्रलोभन देखाएर क्रिश्चियन धर्मको प्रचार गर्दै हिँडेका केही व्यक्तिलाई जनकपुरधाममा मोसो दलिएको छ।
क्रिश्चियन धर्म प्रचार गर्दै सार्वजनिक रुपमा हिँडेको अवस्थामा जनकपुरधामका केही स्थानीयले एक महिला र एक पुरुषलाई मोसो दलेका हुन्।
मंगलबार बिहान ८ बजेको समयमा जनकपुरको परिक्रमा रोड बल्बा टोलनजिकै जनकपुर ट्रमा सेन्टर हस्पिटलअगाडि ती दुई व्यक्तिलाई नियन्त्रणमा लिएर स्थानीयले मोसो दलेका हुन्।
धर्म प्रचार गर्दै हिँडेका दुईमध्ये पुरुषलाई मात्रै स्थानीयले मोसो दलेका हुन्। महिलालाई स्थानीयले त्यसो गर्नु गलत भएको भन्दै मोसो नदली प्रहरीमा बुझाए।
‘हिन्दू सम्राट् सेना नेपाल’ नामक हिन्दूवादी समूहका अमित राउत नेतृत्वको टोलीले दुवैजनालाई नियन्त्रणमा लिएको हो।
‘हिन्दू धर्मको गलत व्याख्या गर्दै बदनाम गरेर क्रिश्चियन धर्म प्रचार गरेकाले मोसो दलेर प्रहरीमा बुझाइएको उक्त संगठनले जनाएको छ।
स्थानीयले बुझाएका दुवैजना अहले जिल्ला प्रहरी कार्यालय धनुषामा छन्। धनुषाका डीएसपी वेदप्रसाद गौतमले यसबारेमा आवश्यक अनुसन्धान जारी रहेको बताए।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij