काठमाडौं : नेपाल भलिबल संघले नेपाली राष्ट्रिय टोलीमा समावेश पुरुष तथा महिला भलिबल खेलाडीलाई पहिलो पटक मासिक तलब दिने घोषणा गरेको छ ।
संघले राष्ट्रिय टोलीमा समावेश भएका समान १२ महिला तथा पुरुष खेलाडीलाई मासिक पाँच हजारका दरले तलब प्रदान गर्ने मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिएको हो। अमेरिकामा रहेका पूर्वराष्ट्रिय खेलाडी राम श्रेष्ठको नेतृत्वमा राष्ट्रिय खेलाडी र बिजनेस इन्टरप्रेनियरको सहयोगमा मासिक तलब दिइने भएको हो ।
कार्यक्रममा राष्ट्रिय टोलीमा समावेश भएका समान १२ महिला तथा पुरुष खेलाडीलाईतीन महिनाको तलब प्रदान गरिएको थियो। पहिलोपटक तलब पाएपछि कप्तान अरुणा शाहीले यसले खेलाडीको हौसला बढाउने विश्वास व्यक्त गरिन्। राष्ट्रिय पुरुष टोलीका कप्तान मानबहादुर श्रेष्ठले आफू कप्तान हुँदा मासिक तलब सुरुआत भएकोमा खुशी व्यक्त गरे।
नेपाली टोलीमा कप्तान श्रेष्ठसहित रविन चन्द, विशाल विक, दुर्गाबहादुर खड्का, सफल विक, मनिष मानन्धर टेकराज अवस्थी, धीरजकाजी बस्नेत, हेमन्त मल्ल, लोकेन्द्र गिरी, सम्राट भण्डारी र विनोद चन्द छन्।
महिला टोलीमा कप्तान अरुणासहित सरस्वती चौधरी, कामना विष्ट, कविता भट्ट, जानकी भण्डारी, सङ्गम महतो, निरुता ठगुन्ना, प्रतिभा माली, सलिना श्रेष्ठ, सफिया पुन, पुनम चन्द र उषा भण्डारी छन्।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij