काठमाडौँ- नेपाली कांग्रेसका युवा नेताहरुले सञ्चालन गरेको कांग्रेस रुपान्तरण अभियानको बागमती प्रदेश भेला बत्तिसपुतलीस्थित अुपम फुडल्याण्डमा सुरु भएको छ। अभियानका बागमती प्रदेश संयोजक तथा कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यको अध्यक्षतामा भएको भेलामा नुवाकोट जिल्लाका पूर्वसभापति जगदीश नरसिंह केसी, रुपान्तरण अभियानका गण्डकी प्रदेश संयोजक देवराज चालिसे, कांग्रेस केन्द्रीय सदस्य प्रकाश रसाइली, अभियानका मधेश प्रदेश संयोजक रन्जित कर्ण, कर्णाली प्रदेश संयोजक भुपेन्द्रजङ्ग शाही, कोशी प्रदेश संयोजक गुरुराज घिमिरेलगायत नेताहरु सहभागी छन्।
यो अभियानमा कांग्रेसका केन्द्रीय सदस्य गणेश लामा पनि सहभागी छन्। उनी सभापति शेरबहादुर देउवानिकटको रुपमा चिनिँदै आएका नेता हुन्।
नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन चाँडो आयोजना हुनुपर्ने रुपान्तरण अभियानको प्रमुख एजेन्डा रहेको नेता केसीले बताए। ‘विगत लामो समयदेखि नेपाली कांग्रेसका भातृ संठनहरुको अधिवेशन अवरुद्ध गरिएको छ, त्यसको मिति पार्टी नेतृत्वले चाँडो भन्दा चाँडो घोषणा गर्नुपर्छ’ उनले भने, ‘पार्टीका नीतिहरु र रणनीतिहरु समयानुकुल परिमार्जित गर्नुपर्ने देखिन्छ।’
केसीले विद्यार्थी संगठनको एउटा अध्यक्षले स्ववियुको टिकट बाँड्ने, महिला संघको एउटा सभापतिले महाधिवेशन नगराई टिका लगाइ नेता चुन्ने परिपाटी अन्त्य गर्नुपर्ने बताए।
उनले रेशम चौधरीलाई सरकारले आममाफी दिएकोमा पनि असन्तुष्टि जनाए। उनले भने, ‘आज सर्वोच्च अदालतले एउटा फैसला गर्छ, अनि सरकारले त्यसको धज्जि उडाउँछ। हाम्रो पार्टी चुपचाप बस्छ। यो हाम्रो पार्टीको विशेषता होइन।’ यस्तै, कांग्रेसले अन्य दलसँग गठबन्धन गर्न नहुने उनको धारणा छ।
‘नो प्री–पोल एलाइन्स रुपान्तरण अभियानको प्रमुख एजेन्डा हो’ उनले भने, ‘आगामी २०८४ को चुनावमा हामी एक्लै लड्नुपर्छ।’ भेलामा १५० जनाको उपस्थिति रहेको कांग्रेस रुपान्तरण अभियानले जनाएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij