२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

ढल्केबर–लोहारपट्टी प्रसारण लाइन निर्माण सम्पन्न

ढल्केबर–लोहारपट्टी प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौं ।  धनुषाको ढल्केबरबाट महोत्तरीको लोहारपट्टीसम्मको १३२ केभी डबल सर्किट प्रसारणलाइन निर्माण सम्पन्न भएको छ। ढल्केबर–लोहारपट्टी प्रसारणलाइन र लोहारपट्टी १३२ केभी सबस्टेसन निर्माण सम्पन्न गरी बुधबारबाट सञ्चालन (चार्ज)मा ल्याइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

धनुषा र महोत्तरीको विद्युत् आपूर्ति प्रणाली सुधार, बढ्दो विद्युत् माग व्यवस्थापन र विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन सरकार र नेपाल विद्युत् प्राधिकरणको करिब एक अर्ब १३ करोड रुपैयाँ लगानीमा आयोजना निर्माण गरिएको हो। डबल सर्किट प्रसारणलाइनको लम्बाइ २३ किलोमिटर छ। प्रसारणलाइनका लागि ९१ वटा टावर निर्माण गरिएका छन्।

सबस्टेसनमा १३२/३३ केभी, ३० एमभिए क्षमताका दुई थान पावर ट्रान्सफर्मर थान र १३२/११ केभी, २२.५ एमभिए क्षमताको एक थान ट्रान्सफर्मर छन्। समग्रमा सबस्टेसनको क्षमता ८२.५ एमभिए छ। सबस्टेसनबाट विद्युत् आपूर्ति सुरु भएपछि मुख्य रूपमा जनकपुर, जलेश्वर, गौशाला र यदुकुवा वितरण केन्द्रअन्तर्गतका करिब डेढ लाख ग्राहक लाभान्वित हुनेछन्।

प्राधिकरणका अनुसार स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि ३३ केभीका चारवटा फिडर निकाल्न सक्ने गरी संरचना तयार गरिएको छ। ३३ केभीका दुईवटा फिडर जलेश्वर, एउटा गौशाला र एउटा जनकपुर क्षेत्रमा विद्युत् आपूर्तिका लागि प्रयोग गरिनेछ। यसमध्ये जनकपुरतर्फको एउटा फिडर निर्माण सम्पन्न गरी चालू गरिएको छ।

लोहारपट्टी सबस्टेसन वरपरको क्षेत्रमा विद्युत् आपूर्तिका लागि ११ केभीका चारवटा फिडर लाइन निकाल्न सक्ने व्यवस्था गरिएको छ। त्यसमध्ये दुईवटा फिडर निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ। प्रसारणलाइन आयोजना करिब तीन वर्षअघि सुरु गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij