काठमाडौँ- भारतमा गएको आइतबार १५ अर्ब ५४ करोडभन्दा बढी भारतीय रूपैयाँ लागतमा निर्मित नयाँ संसद् भवनको उद्घाटन भयो।
भर्खरै उद्घाटन गरिएको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’ को भित्तेचित्रमा नेपालको लुम्बिनी र कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्र समेटिएको छ।
उक्त भित्तेचित्रमा छिमेकी मुलुकको भूभागलाई पनि समेटेपटि पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी केन्द्रका अध्यक्ष डा. बाबुराम भट्टराईले आपत्ति जनाएका छन्।
मंगलबार सामाजिक सञ्जाल ट्विटरमार्फत् उनले ‘अखंड भारत’ को विवादास्पद भित्तिचित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानीकारक कूटनीतिक विवाद निम्त्याउन सक्ने बताएका छन्।
यसले भारतका निकटतम् छिमेकीहरू बीचको बिग्रँदो द्विपक्षीय सम्बन्धलाई थप हानी गर्ने उनले बताएका छन्।
नेपाल र भारतका प्रधानमन्त्रीलाई मेन्सन गर्दै उनले भनेका छन्, ‘भारतीय राजनीतिक नेतृत्वले यस भित्तिचित्रको वास्तविक अभिप्राय र प्रभावलाई समयमै खोलेर स्पष्ट पार्नु बुद्धिमानी हुन्छ।’
© 2026 All right reserved to samajpress.com | Site By : Sobij