२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

न्युयोर्कको सडकको नाम तेन्जिङ नोर्गे शेर्पा राखियो

न्युयोर्कको सडकको नाम तेन्जिङ नोर्गे शेर्पा राखियो

काठमाडौँ- अमेरिकाको न्युयोर्क राज्यको क्विन्स बोरोको ७५ स्ट्रिटको ब्रोड वे र उडसाइडको सडकको नाम पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा राखिएको छ।

सडक नामकरणका लागि ६ वर्षदेखि स्थानीय रूपमा सक्रिय युनाइटेड शेर्पा किदुङ्ग र यूएसएनेपाल क्लाइम्वर्स एसोसिएसनले सिटीसँग पहल गरिरहेको थियो भने गत अप्रिलमा न्युयोर्कको क्विन्सको डिस्ट्रिक २५ को सिटी काउन्सिलले अनुमति दिएको थियो।

क्लाइम्वर्स एसोसिएसनका अध्यक्ष पासाङनिमा शेर्पाले भने, “सिटीको अनुमति पाएपछि हामीहरूले सगरमाथा दिवसकै दिन पारेर उक्त सडकमा तेन्जिङ शेर्पाको नाम राखेका हौँ। हामी सगरमाथाको देशबाट आएर पहिलो सगरमाथा आरोहीकै नाममा न्युयोर्कजस्तो विशाल सिटीमा सडकको नामकरण हुनु साह्रै गर्वको विषय हो।”

सोमबार आयोजित कार्यक्रमपछि प्रतिक्रिया दिँदै उनले भने, “यो हामी सम्पूर्ण आरोहीहरूका लागि खुसीको क्षण त हो नै नेपालीहरूका लागि पनि गर्वको विषय हो।”

कार्यक्रममा सहभागी भएका र लामो समयदेखि न्युयोर्कमा बसिरहेका जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले नेपालीको नाममा सडकको नामकरण हुनु सुखद् क्षण भएको बताए। उनले भने, “सगरमाथाको देश भनेर हामी विश्वभरि चिनिन्छौँ, त्यसमा पनि प्रथम आरोही तेन्जिङ शेर्पाको नाममा सडकको नामकरण गर्न सहजीकरण गरिदिनुभएकामा काउन्सिलका सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु।”

यसअगाडि प्रथम दक्षिण एसियालीमूलकी कंग्रेसवुमन जेनिफर राजकुमारले एक सङ्कल्पपत्र पास गरेर मे २९ लाई सगरमाथा दिवसका रूपमा मान्यता दिलाउन सफल भएका थिए। त्यसैले सोमबार ७०औँ सगरमाथा दिवस पनि मनाइएको थियो। सोमबार आयोजित कार्यक्रममा तेन्जिङ शेर्पाका छोरा नोर्बु तेन्जिङ नोर्गे, दामे तेन्जिङ नोर्गेसमेत सहभागी भएका थिए। नेपाली नियोगका प्रतिनिधि, नेपाली समुदायका अगुवालगायतको कार्यक्रममा सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij