टेक्सस । अमेरिका आम नेपालका लागि सपनाको देश हो । अध्ययनका लागि होस् वा अवसरका लागि अधिकांश नेपालीहरु अमेरिकालाई आफ्नो स्वप्न गन्तव्य मान्दछन् । विश्वकै सबैभन्दा विकसित, व्यवस्थित र सुदृढ राष्ट्रको पहिचान बनाएको अमेरिका पूग्न नेपालीहरु वैधदेखि अवैधसम्मका उपाय लगाउँछन् । कतिपयलाई अमेरिका पुग्नु नै सबै प्राप्ति हो भन्ने लाग्दछ । तर यथार्थ त्यस्तो छैन । पछिल्लो एक घटनाले अमेरिका पुग्नुमात्रै सबथोक नभएको देखाएको छ ।
आफ्ना वृद्ध पिता, श्रीमती र ५ वर्षको छोरो छाडेर रुकुमको बाफीकोटका दीपक वली एक वर्षअघि मात्रै अमेरिका आएका थिए । दलाललाई ८० लाख रुपैयाँ बुझाएर मेक्सिकोको बाटो हुँदै अमेरिका छिरेका उनी अमेरिकामै पैसा कमाएर ऋण तिर्ने र परिवारलाई पनि बोलाउने योजना बुन्दथे । तर ग्यास स्टेसनमा काम गर्दा गर्दै लुटेराहरुले गोली प्रहार गरेर उनको हत्या गरिदिएका छन् । यसबाट नेपालमा रहेको ओली परिवार शोक र संकटमा परेको छ ।
वली टेक्ससको वेको सिटी नजिकैको हाइवेमा रहेको एक ग्यास स्टेसनमा कार्यरत थिए । ड्युटीमा रहेको समयमा आएका २ लुटेराले उनलाई कोखमा गोली प्रहार गरेर हत्या गरेका हुन् । गोली प्रहारबाट उनको घटनास्थलमै निधन भएको थियो । २ जना लुटेरले उनको हत्या गरिरहँदा तेस्रो लुटेरा गाडीमा रहेका थिए ।
३० वर्षको उमेरमा अमेरिकामा ज्यान गुमाएका दीपक वलीको परिवारलाई सहयोग गर्न अमेरिकाबासी नेपालीहरुले पहल थालेका छन् । एनआएनए अमेरिकाका पदाधिकारी तथा रुकुम स्थायी घर भएका अमेरिकाबासीले वलीको परिवारका लागि सहयोग जुटाइरहेका छन् । यो लिंकमा गएर वलीको परिवारलाई सहयोग गर्न सकिन्छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij