काठमाडौँ- मन्त्रीको शपथ लिएको ९४ औँ दिनमा बागमती प्रदेशका मन्त्री रामकृष्ण चित्रकारले मंगलबार विभागीय जिम्मेवारी पाएका छन्। मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको क्याबिनेट बैठकले उनको विभागीय जिम्मेवारी दिइनेगरी मन्त्रालयको नाम टुंग्याएको हो।
मन्त्री चित्रकारले उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय पाउनेगरी मन्त्रालयको नाम आजको क्याबिनेट बैठकले टुंग्याएको हो।
एक मन्त्रालय बढेसँगै बागमतीमा अब १२ मन्त्रालय रहने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता गंगा नारायण श्रेष्ठले बताए।
निवर्तमान मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले ८ बाट १४ वटा मन्त्रालय बनाएपछि प्रदेशसभाको दोस्रो कार्यकालमा पहिलो मुख्यमन्त्री बनेका जम्मकट्टेलले माघमा मन्त्रालय संख्या ११ वटामा झारेका थिए।
कार्यदल गठन गरेर अध्ययनपछि ११ वटा मन्त्रालय बनाएको साढे २ सय दिन नबित्दै बागमतीमा मन्त्रालय संख्या थपिएको हो।
बागमतीमा अब मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, श्रम, रोजगार तथा यातायात मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय रहने सरकारका प्रवक्ता कानुनमन्त्री श्रेष्ठले जानकारी दिए।
मुख्यमन्त्री जम्मकट्टेलले २६ पुस २०७९ मा मुख्यमन्त्रीको कार्यभार सम्हाल्दै पहिलो निर्णय नै मन्त्रालय संख्या घटाउने उद्देश्यले बागमतीका तत्कालीन प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा पाँच सदस्य कार्यदल गठन गरेका थिए।
त्यसको १५ दिनपछि कार्यदलको प्रतिवेदन बुझ्दै जम्मकट्टेलले आफ्नो कार्यकालमा मन्त्रालय संख्या नथप्ने र राज्यमन्त्री नियुक्त नगर्ने अडान लिएका थिए। तर, उनको अडान कार्यदल गठन भएको मितिले २ सय २५ दिन आइपुग्दासम्म टिक्न सकेन। प्रदेशको आन्तरिक स्रोत खुम्चिँदा बजेट ८ अर्ब घट्नु र मुलुकमा देखिएको आर्थिक मन्दीका बाबजुद मन्त्रालय घटाउनुपर्नेमा जम्मकट्टेलले मन्त्रालय थपेका हुन्।
बागमतीको गठबन्धनमा भागबण्डाको लफडाले मुख्यमन्त्री सम्हालेदेखि नै समस्यामा पर्दै आएका जम्मकट्टेलले कार्यदल गठन गर्दै ९ वटासम्म मन्त्रालय बनाउन चाहेका थिए। तर, गठबन्धनमा भागवण्डा नपुग्ने भएपछि उनी ११ वटासम्म बनाउन सहमत भएका थिए।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij