२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानको रकम दुरुपयोग भएको छैनः गभर्नर अधिकारी

कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानको रकम दुरुपयोग भएको छैनः गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यावसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानको रकम दुरुपयोग नभएको स्पष्ट गरेका छन् ।

शनिबार आयोजित साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २३औँ वार्षिकोत्सव कार्यक्रममा गभर्नर अधिकारीले कृषि कर्जाको ब्याजदरमा दिइएको हालसम्मको अनुदान विश्लेषण गर्दा त्यसमा दुरुपयोग नदेखिएको बताए । केही व्यक्तिबाट दुरुपयोग भएको देखिएकामा असुल प्रक्रिया पनि प्रारम्भ भइसकेको उनले बताए ।

“कृषि कर्जाको अनुदान दुरुपयोग भएको भन्ने सतही कुरा हुन् । यो सफल कार्यक्रम देखिएको छ र अनुदानको प्रभावकारिता राम्रो छ”, गभर्नर अधिकारीले भने, “हाम्रो अध्ययनका क्रममा निकै सानो सङ्ख्यामा मात्रै यस्तो कर्जा दुरुपयोग भएको देखिएको छ । यसलाई असुल गर्ने प्रक्रिया पनि अघि बढिरहेको छ ।”

सरकारको योजनाअनुसार अर्थ मन्त्रालयले युवाहरुलाई व्यावसायिक कृषि कर्जामा प्रदान गर्ने ब्याज अनुदानसम्बन्धी कार्यविधि तयार पारेर कार्यविधिअनुसार नै अनुदान उपलब्ध गराइएको गभर्नर अधिकारीले दाबी गरे । हालसम्म एक लाख २६ हजार ऋणीले कृषि कर्जामा अनुदान पाएको जनाउँदै त्यस्तो अनुदान पाउने अधिकांश महिला तथा साना किसान रहेका उनले बताए । यो कार्यक्रम विवादमा परेपछि विसं २०७९ असोजयता अनुदान नदिइएको उनले स्पष्ट पारे ।

उद्यमशीलता विकास एवं रोजगारी सिर्जना र वित्तीय पहुँच तथा साक्षारता विस्तारका लागि साना किसान विकास लघुवित्त र साना किसान सहकारीले महत्वपूर्ण भूमिका खेलेको पनि गभर्नर अधिकारीले बताए ।

पछिल्लो समय सहकारी क्षेत्रमा समस्या देखिन थाले पनि साना किसान सहकारी संस्थाहरुमा भने यस्तो समस्या नआएको उनको भनाइ छ । विगतमा कृषि कर्मलाई हेला गर्ने समाजले अहिले सम्मान गर्ने अवस्था आएको पनि गभर्नर अधिकारीले उल्लेख गरे ।

राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले कृषि कर्जामा दिइएको अनुदानको दुरुपयोग भएको धारणा राखेका थिए । नीतिगत स्थायित्वको अभावमा निजी क्षेत्रको मनोबल खस्किँदै गएकाले उनीहरुले लगानी गर्न नचाहेको उनले बताए ।

साना किसान विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत शिवरामप्रसाद कोइरालाले सरल कर्जा प्रवाहमार्फत युवा उद्यमशीलता विकास, समावेशी वित्तीय पहुँच विस्तारमा संस्थाले महत्वपूर्ण भूमिका खेलेको बताए ।

“यस लघुवित्तले साना किसान कृषि सहकारीमार्फत कर्जा प्रवाह गर्ने भएकाले उद्यमशीलता विकास र रोजगारी सिर्जना गरी आन्तरिक उत्पादनमा योगदान पुगेको छ”, उनले भने।

साना किसान लघुवित्तबाट कर्जा पाएकामध्ये ७९ प्रतिशतभन्दा बढी महिला रहेको बताउँदै कार्यकारी अधिकृत कोइरालाले देशभरका पाँच सय ५० स्थानीय तहमा साना किसान लघुवित्तको सेवा पुगिसकेको जानकारी दिए । हाल साना किसानले ११ लाखभन्दा बढी परिवारका ४५ लाख जनसङ्ख्यालाई सेवा दिइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij