२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

संसद्‌ अवरोध अन्त्यका लागि राष्ट्रपतिले डाकेको सर्वदलीय बैठक आज

संसद्‌ अवरोध अन्त्यका लागि राष्ट्रपतिले डाकेको सर्वदलीय बैठक आज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‌मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतासँग आज छलफल गर्दै छन् । यसका लागि आज उनले संसद्‌मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई बोलाएका छन् ।

छलफल बिहान साढे ८ बजे शीतलनिवासमा बोलाइएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।

पोखरेलका अनुसार समसामयिक विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले बैठक बोलाएका हुन् । पौडेलले संसद्को गतिरोधप्रति सुरुदेखि नै चासो राख्दै आएका छन् ।

यसअघि पनि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गरेका थिए । राष्ट्रपति पौडेलले आइतबार बेलुका रास्वपाका सभापति रवि लामिछानेसँग पनि भेटवार्ता गरेका थिए ।

साउन १० गतेयता प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद् अवरोध गर्दै आएको छ । ब्रेक–सु मा राखेर भित्र्याइएको ६० किलो सुन प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समितिमार्फत अनुसन्धान हुनुपर्ने अडान राख्दै आएको छ ।

त्यसमा सरकारले असहमति राख्दै नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखा सीआईबीमार्फत नै अनुसन्धान अघि बढाउने भन्दै राज्यका निकायमाथि अविश्वास नगर्न गृहन्त्री नारायणकाजी श्रेष्ठले आग्रह गरेका छन् ।

सुरुमा राजस्व अनुसन्धानले हेरेको सुन काण्डको अनुसन्धान पछि सीआईबीलाई दिइएको थियो । तर, एमालेले भने गृहमन्त्री श्रेष्ठमाथि नै अनुसन्धान आवश्यक भएकाले सीआईबीले गर्न नसक्ने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij