२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

धेरै भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

धेरै भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ- आज (सोमबार) देखि देशभर वर्षा हुने क्रम बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।

महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार अहिले पनि देशभर विभिन्न स्थानमा पानी परिरहेको छ।

‘यतिबेला (सोमबार बिहान सवा ७ बजे) कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा देशका बाँकी प्रदेशका पनि एक/दुई स्थानमा वर्षा भइरहेको छ’, उनले भनिन्।

मौसमविद् कँडेलका अनुसार भारतको मध्यप्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा जलवाष्पयुक्त हावा आइरहेको तथा माथिल्लो वायुमण्डलले पनि बादल विकास गरिरहेकाले आजदेखि वर्षा बढ्ने भएको हो।

‘मनसुनको न्यून चापीय रेखा पनि नेपालतर्फ नजिकिँदै छ’, उनले भनिन्, ‘जसले आगामी २/३ दिन मौसम बदली र वर्षा बढाउने देखिन्छ।’

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा कोशी, बागमती, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

यस्तै राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले आगामी २४ घण्टा (मंगलबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij