२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

पल्टुराम प्रचण्ड आफै बने उथलपुथलको शिकार !

पल्टुराम प्रचण्ड आफै बने उथलपुथलको शिकार !

काठमाडौं । शीर्ष २ राजनीतिक दललाई जुधाएर लाभ लिदैं आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको “उथलपुथल” मा ब्रेक लागेको छ । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका ३२ जना मात्रै सांसदहरु रहेका छन् । जुन कुल सांसद संख्याको ११ दशमलव ६३ प्रतिशत मात्रै हो ।
तेस्रो दल भएरपनि सत्ता राजनीतिको लाभ लिन सफल माओवादीले बितेको १८ महिनामा ३ पटक सत्ता समीकरण हेरफेर गर्यो भने प्रधानमन्त्रीका रुपमा प्रचण्डले ४ पटक विश्वासको मत हासिल गरे ।

आफू बाचुन्जेल उथलपुथल भइरहने, माओवादीसँग म्याजिक नम्बर रहेको तथा तरिका मिल्यो भने पाँचै वर्ष सरकार चलाउने लगायतका भाषण यो बीचमा प्रधानमन्त्रीले गरेका थिए । अन्ततः यही ओभर कन्फिडेण्टले प्रचण्डलाई अप्ठ्यारोमा पारेको छ । प्रमुख सत्तारुढ घटक नेकपा एमाले नयाँ राजनीतिक कोर्सका लागि तयार बन्दा संसदमा आरामदायी बहुमतसहित शीर्ष २ दलको सरकार बन्ने भएको छ ।

कांग्रेस र एकीकृत समाजवादी लगायतका दलसँग मिलेर गत संसदीय निर्वाचनमा प्रतिस्पर्धा गरेको नेकपा माओवादी केन्द्रले तेस्रो ठूलो दलको हैसियत बनाएको थियो । निर्वाचनपछि चुनावी गठबन्धन छाडेर एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए । त्यसको २ महिनामै राष्ट्रपति निर्वाचनको समयमा कांग्रेससँग सहमति गरेर एमालेलाई सरकारबाहिर पठाउन प्रचण्ड सफल भए । गत फागुनमा आफ्ना भाई नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्ष बनाउन प्रचण्डले फेरी गठबन्धन फेरे । कांग्रेसलाई सरकारबाट निकालेर एमाले र रास्वपासँग सहमति गरे । कहिले कांग्रेस त कहिले एमालेसँग मिलेर सत्ताको रसास्वादन गरेका प्रचण्ड सार्वजनिक मञ्चहरुमा कांग्रेस एमाले प्रति नै असहिष्णु बन्ने गरेका थिए ।

भारतीय राजनीतिमा गठबन्धन फेरिरहने नेतालाई “पल्टुराम” भन्ने चलन छ । पछिल्लो समय चुनावको पूर्वसन्ध्यामा गठबन्धन फेरेका बिहारका मुख्यमन्त्री नितिश कुमारलाई पल्टुरामको संज्ञा दिने गरिएको थियो । नेपाली राजनीतिमा पल्टुरामको जस्तै छवि प्रचण्डले बनाएका थिए । अब पल्टुराम प्रचण्डको सत्ता रजगज सकिने निश्चित भएको छ । सबैभन्द ठूला दलको सहमतिले संघ र प्रदेशमा स्थायी सरकारको सुनिश्चितता गरेको छ भने प्रधानमन्त्री प्रचण्डलाई विपक्षी दलको नेतामा सीमित गराइदिएको छ । यसपटक प्रचण्ड आफै उथलपुथलको शिकार बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij