काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ‘अपरेसन चार्ली फक्सट्रोट’अन्तर्गत हालसम्म नौजना पक्राउ परेका छन् भने दुईजना छुटेका छन्।
नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा एमबीबीएस पढेर मेडिकल काउन्सिलबाट डाक्टरको लागि अनुमति लिएका डाक्टरमाथि सीआईबीले २५ साउनदेखि अपरेसन चलाएको हो ।
सोही अपरेसनअन्तर्गत हिजो बिहीबार सीआईबीले चितवन मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत नसिम अख्तरलाई पक्राउ गरेको छ । सप्तरीको राजविरिाज ९ का २८ वर्षीय अख्तर भरतपुर महानगर १० बाट पक्राउ परेका हुन् ।
अख्तरसहित हालसम्म पक्राउ पर्नेमा नेपाली कांग्रेसका सांसद डा सुनील शर्मा, डा.मनित चौधरी, डा. श्रद्धा सिल्पकार, रन्जितकुमार यादव, अमित चौधरी, रामबाबु यादव, एरिना शाह र पुनम थापा पक्राउ परेका हुन् ।
उनीहरुमध्ये कांग्रेस सांसद शर्मा र रन्जित यादव रिहा भइसकेका छन् । शर्मालाई अदालतले म्याद नथपेका कारण र रन्जित सक्कली प्रमाणपत्र भएका डाक्टर प्रमाणित भएपछि छुटेका हुन् ।
पक्राउ परेकाहरुलाई किर्ते मुद्दामा अनुसन्धानको लागि जिल्ला सरकारी वलिक कार्यालयबाट थप अनुसन्धानको लागि पाँच दिनको म्याद थप भएको सीआईबीले जनाएको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij