२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

नेता कार्यकर्तालाई कांग्रेसलाई कसैले पनि हराउन नसक्ने गरी जनस्तरमा काम गर्न देउवाको निर्देशन

नेता कार्यकर्तालाई कांग्रेसलाई कसैले पनि हराउन नसक्ने गरी जनस्तरमा काम गर्न देउवाको निर्देशन

लुम्बिनी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा प्रतिपक्षको भूमिका थप प्रभावकारी बनाउने बताएका छन् । उनले संसदमा नेपाली कांग्रेसको भूमिका प्रभावकारी हुन नसकेको सन्देश गएकाले अब थप प्रभावकारी ढङ्गले प्रस्तुत हुने बताएका हुन् ।

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाको महेशपुरमा स्वर्गीय पृथ्वीराज कँडेलको अर्धकदको सालिक अनावरण र बसपार्कको शनिबार उद्घाटन गर्दै सभापति देउवाले जनजीविकाका सवालमा प्रतिपक्षले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्ने बताए ।

उनले नवलपरासीमा महेशपुर मूलभन्सार भएर पनि पूर्ण रूपमा सञ्चालनमा आउन नसकेकाले यसको भौतिक एवं प्रशासनिक सुधारका लागि पहल गर्ने आश्वासन पनि दिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्दराज कँडेलका पिता पृथ्वीराज कँडेलको स्मृतिमा बसपार्कको नामकरण गरिएको र अर्धकदको सालिक निर्माण गरिएको हो । स्व कँडेल २०१५ सालमा पाल्हिमाझ खण्ड पूर्वीनिर्वाचन क्षेत्र नं ५७ बाट निर्वाचित सांसद थिए ।

कार्यक्रममा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदेयश त्रिपाठीले निजामती कर्मचारी सेवा ऐन तत्काल पारित गर्नुपर्ने बताए । उनले नेपाल–भारत सीमा क्षेत्रमा हुने कुनै पनि क्रियाकलाप मधेसको सहमतिमा हुनुपर्नेसमेत बताए ।

नवलपरासी क्षेत्र नम्बर १ का सांसद विनोद चौधरीले राजनीतिक दल फरक–फरक भए पनि जिल्लाको विकासमा सबै दल एकजुट हुनुपर्ने बताए ।

सङ्घीय सरकारको एक करोड, पाल्हीनन्दन गाउँपालिकाको १३ लाख गरी कुल रु एक करोड १३ लाख लागतमा बसपार्क निर्माण भएको बसपार्कका संरक्षक देवेन्द्रराज कँडेलले जानकारी दिए ।

यस्तै सभापति देउवाले आजै नवलपरासीको परासीमा पार्टीका नेता तथा कार्यकर्तासँग अन्तरक्रिया गरेका छन् ।

कार्यक्रममा सभापति देउवाले नेपाली कांग्रेसलाई कसैले पनि हराउन नसक्ने गरी जनस्तरमा काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

उनले पार्टीमा दण्ड र पुरस्कारको नीति कडाइका साथ लागू गर्ने भएकाले नेता, कार्यकर्तालाई ढुक्क भएर काम आग्रह गरे ।

‘कांग्रेसको विचार, यसले राष्ट्रिय राजनीतिमा खेल्ने भूमिका, देश र जनताका पक्षमा हाम्रो पार्टीले गरेका कामका बारेमा आम जनतामाझ पुर्याउने गरी प्रचार गर्नुपर्ने आवश्यकता छ । एकढिक्का भएर जनस्तरमा खटेमा पार्टीलाई कसैले हराउन सक्दैन’, सभापति देउवाले भने ।

उनले चुनावमा हुने अन्तर्घात हटाउन अहिलेदेखि नै योग्यता र क्षमताका आधारमा पदीय जिम्मेवारीको बाँडफाँट गरेर जनतामाझ पुग्नसमेत सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij