२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

बारामा क्याम्पस प्रमुखको हत्या घटनाबारे छानबिन गर्न सांसदहरुको माग

बारामा क्याम्पस प्रमुखको हत्या घटनाबारे छानबिन गर्न सांसदहरुको माग

 

काठमाडौँ ।  प्रतिनिधिसभाको आजको बैठकमा बाराको कैलयास्थित रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहलाई गोली हानी हत्या गरिएको घटनाको छानबिन गर्न माग गरिएको छ ।

बैठकको आकस्मिक समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद अच्युतप्रसाद मैनालीले एकपछि अर्को यस्ता व्यक्ति हत्याका घटना भएको भन्दै क्याम्पस प्रमुख कुशवाहको गोली प्रहार गरी निर्ममतापूर्वक हत्या गरिएको घट्नाको घोर भत्र्सना गरे । कुशवाह एक प्राज्ञिक र सरल व्यक्ति भएको उनको भनाइ छ ।

बारामा गत असोजमा कलैया चोकमा बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफ र गत भदौमा बाराकै पचरौता नगरपालिकामा भारतीय नागरिकलाई नेपालमा ल्याएर गोली हानी हत्या गरिएको घटना उल्लेख गर्दै सांसद मैनालीले नागरिकको सुरक्षाप्रति संवेदनशील बन्न सरकारसँग माग गरे ।

“हत्याको शृङ्खला बढ्दै गएको छ । खुला सीमा तथा हातहतियारको ओसारपसारका कारण सीमा क्षेत्रका बासिन्दा असुरक्षित र त्रसित छन्,” उनले भने, “मधेसमा एक दशकअघि राजनीतिक आवरणमा हत्या र हिंसाको शृङ्खला भएको थियो । धेरै नागरिक विस्थापित हुन परेको थियो । त्यो पीडा बिर्सेर मधेस सङ्ग्लिँदै गइरहेको अवस्थामा फेरि हत्याको शृङ्खला बढ्दै गएको छ । यसलाई अविलम्ब नियन्त्रण गरी अपराधीलाई कानुनी दायरामा ल्याउन माग गर्दछु ।”

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले पनि क्याम्पस प्रमुख कुशवाहको गोली प्रहार गरी हत्या भएको घटनाको अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराए ।

“शिक्षण सेवामा लागेका ‘गुरु’हरुको दिनदहाडै गोली प्रहार गरी हत्या हुनु दुर्भाग्य हो । मधेस प्रदेशमा गत सातामात्रै चारजनाको गोली हानी हत्या भएको छ । जघन्य अपराधका घटनाको छानबिन गरी कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउँछु”, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij