२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

कोशी सरकार गठनविरुद्धको रिट हेर्दाहेर्दैमा

कोशी सरकार गठनविरुद्धको रिट हेर्दाहेर्दैमा

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट हेर्दाहेर्दैमा राखिएको छ । बिहीबार न्यायाधीशहरु कुमार रेग्मी, डा नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको तीन सदस्यीय पूर्ण इजलासले मुद्दालाई हेर्दाहेर्दैमा राखेको हो ।

हेर्दाहेर्दैसँगै इजलासले ९ असारको पेसी समेत तोकेको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमाथिको बिहीबार भएको बहसमा ६ जना कानुन व्यवसायीहरुले भाग लिएका थिए । बाँकी ६ जनाको बहस अर्को पेसीमा हुनेछ ।

२७ जेठमा सर्वोच्चका न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना, अब्दुल अजीज मुसलमान र सुनिल कुमार पोखरेलको इजलासमा रिटको सुनुवाइ हुने तोकिएको थियो । तर, न्यायाधीश सुनिल कुमार पोखरेलले सरकार निर्माणसम्बन्धी विवादमा यसअघि कानुन व्यवसायीको हैसियतमा हालको मुद्दामा विपक्षी रहेका हिक्मत कार्कीको विपक्षमा मुद्दा लडेकाले मुद्दा हेर्न नमिल्नेमा परेको थियो । यो मुद्दा पूर्णइजलासमा पुग्नुअघि एकल र संयुक्त इजलासमा बहस भएको थियो ।

न्यायाधीश हरि फुयालको एकल इजलासपछि सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले यो मुद्दामा सुनुवाइ गर्यो ।

तर, थप संवैधानिक प्रश्न रहेको भन्दै संयुक्त इजलासले रिटलाई पूर्णइजलासमा पठाउने आदेश गरेको थियो । एउटा मुख्यमन्त्रीलाई पदमुक्त नगरी संविधानविपरीत अर्को मुख्यमन्त्री नियुक्त गरेको भन्दै निवर्तमान मुख्यमन्त्री केदार कार्कीले गत वैशाख २७ गते दायर गरेको रिटमा अन्तरिम आदेश माग गरिएको भएपनि अदालतले अन्तरिम आदेश भने दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij