काठमाडौँ- नेपाली कांग्रेसका सांसद सुनिल शर्माले ललिता निवास जग्गा प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूले पनि हिरासत बाहिर बसेर अनुसन्धान गर्न पाउनुपर्ने बताएका छन्।
सीआईबीको हिरासतबाट रिहा हुने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सो कुरा बताएका हुन्।
‘मीनबहादुर जस्ता मान्छेहरु भित्रै छन्। उनीहरुले पनि बाहिर बसेर मुद्दा लड्न पाउनुपर्छ,’ उनले भने, ‘बालकृष्ण खाणले पनि बाहिर बसेर मुद्दा लड्न पाउनुपर्छ। किनभने उहाँहरु भगौडा होइन।’
साथै, उनले आफूले न्याय पाएको भन्दै धेरै मान्छेले न्याय पाउनपर्ने बताए। ‘आज न्याय मैले पाएको छु। धेरै मान्छेले न्याय पाउनपर्छ,’ शर्माले भने।
शुक्रबार अदालतबाट रिहाई भएपछि पत्रकारसँग कुरा गर्दै शर्माले भने, मलाई प्रधानमन्त्रीकै निर्देशनमा पक्राउ गरिएको हो ।
युद्धकालमा उहाँलाई शान्तिप्रक्रियामा ल्याउन आफूले पनि भूमिका खेलेको दावी गरे ।
उनले भने, ‘नेपालको इतिहासमा सुनिल शर्मा, शेखर कोइराला, कृष्ण इच्छुक, महेश्वर दाहालजस्ता मानिस नभएको भए आज पनि उहाँ जंगलमा हुनुहुन्थ्यो । गिरिजाबाबुलाई कन्भिन्स गरेर हामीले नै पहिलो कुरा गराएका हौं । उहाँले त कुन नम्बरबाट हो भन्ने विर्षिनुभयो होला । तर मलाई अझै पनि कन्ठ छ ।’
उनले प्रचण्डलाई आफूले लगाएको गुनको पैँचो हतकडी लगाएर तिरेको गुनासो गरे, ‘उहाँ बैगुनी मान्छे हुनुहुँदो रहेछ । हामीले लगाएको गुनको पैँचो हतकडी लगाएर दिनुभएको छ । यसका लागि धन्यवाद भन्न चाहन्छु । पावरको उन्माद हो यो ।’
सांसद शर्माले गृहमन्त्रीलाई आतंकारीको संज्ञा दिँदै पदबाट राजीनामाको माग गरे । साथै माओवादीसँगको सत्ता गठबन्धनबारे पुनर्विचार गर्ने बेला आएको उनको भनाई थियो ।
शर्माले आफूलाई प्रधानमन्त्रीको निर्देशनमा पक्राउ गरिएको आरोप पनि लगाए।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij