काठमाडौँ । राष्ट्रियसभाको आइतबारको बैठकले ‘मिडिया काउन्सिल विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेकी थिइन् ।
सांसदहरु देवेन्द्र दाहाल, मदनकुमारी शाह गरिमा, तुलासाकुमारी दाहालले विधेयकमाथि आफ्नो धारणा राखेका थिए । सांसदहरुले उठाएका जिज्ञासाको जवाफमा मन्त्री शर्माले बदलिदो अवस्थालाई ख्याल गर्दै न्यू मिडियालाई समेत सम्बोधन गर्ने गरी विधेयक प्रस्तुत गरिएको बताइन् । उनले विधेयकले नेपालको संविधानमा उल्लेख गरिएको समावेशितालाई विशेष ख्याल गरिएको, महिला र प्रदेशगत सहभागितालाई सुनिश्चित गरेको जानकारी दिइन् ।
विगतमा पनि मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाले स्वीकृत गरेको स्मरण गर्दै मन्त्री शर्माले तत्कालीन प्रतिनिधिसभाको कार्यकाल समाप्त भएसँगै विधेयक शून्यमा पुगेको बताइन् । नयाँ विधेयक तयार गर्दा सरोकारवालासँग छलफल भएको, विज्ञ सदस्यको टोली नै बनाएर अध्ययन एवं छलफल गराइएको, बढीभन्दा बढी परिमार्जित गराइएको भए पनि थप समृद्ध बनाउन सांसदले महत्वपूर्ण सुझाव दिने विश्वास व्यक्त गरिन् ।
आम सञ्चार नीतिलाई पूर्ण रुपमा कार्यान्वयन गर्न पनि यस विधेयकले महत्वपूर्ण योगदान दिनेमा जोड दिँदै उनले पत्रकारको अभिलेख राख्ने, पत्रकारको पेसागत सुरक्षालाई ध्यान दिइएको, अभिव्यक्ति स्वतन्त्रतालाई विशेष ख्याल गर्दै स्वः नियमनलाई प्राथमिकतामा राखिएको बताइन् ।
यस्तै बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘सुरक्षित कारोबार (पहिलो संशोधन), २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस गरेकी थिइन् ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij