काठमाडौँ- नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले संसद् अवरोध हुँदा जनताको आवाज राख्न नपाइएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमाथि आक्रोश पोखेका छन्। लामो अवरोधपछि मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै १० दिनसम्म ध्यानाकर्षण गर्ने थुप्रै विषयहरू संसद्मा उभिएर बोल्न नपाएको उनको भनाइ छ।
एमालेले सय किलो सुन प्रकरणको उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै सदन अवरुद्ध गर्दै आइरहेको थियो। आज यसबारे गृहमन्त्रीले जवाफ दिने बताएसँगै बैठक सुरु भएको हो। आजको बैठकमा पनि एमालेले छानबिन समिति नबने विरोध जारी नै रहने भन्दै संसद् अवरुद्ध गर्ने चेतावनी दिएको छ।
कांग्रेस महामन्त्रीसमेत रहेका शर्माले सदनमा ‘नियमापत्ति र आपत्ति’ शब्दबारे प्रष्ट हुन प्रमुख विपक्षी दललगायतलाई आग्रह गरे। नियमापत्ति गरेर यो संसद् अब चल्दैन भनेर भन्दै गर्दा निश्चित धारामा टेकेर उभिनुपर्छ भन्ने शर्माले स्मरण गराए।
‘नियमापत्ति भन्ने आपत्ति भन्ने शब्दको व्याख्यालाई गहिरोसँग बुझिदिन आग्रह गर्न चाहन्छु। अहिले मैले बोल्दै गर्दा भूकम्प गयो भने भाग्नका लागि नियमको यो पुस्तक पल्टाइराख्नुपर्दैन,’ उनले भने, ‘जहाँबाट सजिलो हुन्छ त्यहीँबाट लाग्छौँ। यहाँ आपत्ति पर्यो। त्यस्तै आगलागी भयो भने सुरक्षित हुनका लागि हामीले धारा खोजिराख्नुपर्दैन । त्यसैले आपत्ति र नियमापत्तिको बीचमा फरक भन्ने बुझ्नुपर्छ।’
उनले यो जनताको आस्था भएको संसद् भएकाले यहाँ जति पनि निर्वाचित भएर आएका सांसदहरू छन्, प्रत्येकले प्रश्न गर्न पाउने अधिकार सुरक्षित हुनुपर्छ भन्ने मान्यता राख्नुपर्ने बताए। शर्माले देशको विभिन्न स्थानमा बाढी पहिरोले अस्तव्यस्त भएकाले सरकारले त्यस विषयमा आवश्यक कदम चाल्न ध्यानाकर्षण गराए।
सय किलो सुनको विषयमा शर्माले एमालेको ध्यानाकर्षण गराए। शर्माले नेकपा एमालेको सरकार हुँदा समातिएको ३३ किलो सुन प्रकरणबारे पनि प्रश्न उठाएका छन्।उनले अहिले १०० किलो सुन त भेटिएको तर ३३ किलो सुनको एक तोला पनि नभेटिई फाइल बन्द भएको भन्दै आपत्ति जनाए।
‘त्रिभुवन विमानस्थलबाट हुने सुन तस्करी गम्भीर छ। कसको कमजोरी भन्दा सरकारको हो। एयरपोर्टबाट छुटेको सुन सिनामंगलको चोकमा समातियो। सरकारको एक हातले कमजोरी भयो होला, अर्को हातले समात्यो,’ शर्माले प्रश्न गर्दै भने, ‘सय किलो त भेटियो। छानबिन आयोगका विषयमा प्रतिपक्षले उठाएको विषयमा संवादमै छौँ। हामी निषर्कषमाा पुगौँला। ३३ किलो सुनको न छानबिन सुरु भयो। एक तोला पनि नभेटिई ३३ किलो सुनको फाइल बन्द भयो।’
© 2026 All right reserved to samajpress.com | Site By : Sobij