गण्डकी । नेपाली कांग्रेसले सर्वोच्च अदालतले मुद्दा किनारा नलगाएसम्म गण्डकी प्रदेश सभा बैठकमा सहभागी नहुने निर्णय गरेको छ । कांग्रेस प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बिहीबार विज्ञप्ति जारी गरी मुद्दा किनारा नलागेसम्म प्रदेशसभा बैठकमा सहभागी नहुने जानकारी गराएका हुन् ।
सर्वोच्चमा दायर रिटको निरन्तर सुनुवाइ भइरहेको र जेठ १८ गते अन्तिम सुनुवाइ हुने भएकोले त्यसअघि प्रदेश सभा बैठकमा सहभागी नहुने कांग्रेसले निर्णय गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘अदालत अन्तिम फैसला आउन बाँकी रहेको र २०८१ वैशाख २८ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै खगराज अधिकारी नेतृत्वको गण्डकी सरकारलाई दीर्घकालिन असर पर्ने गरी कुनै निर्णय नगर्नु, नगराउनु भन्ने अन्तरिम आदेश समेत जारी गरिएको समयमा अदालतको आदेशको अवहेलना हुने गरी कामचलाउ सरकारले मिति २०८१ जेठ ११ गते अपराह्न ३ बजे प्रदेश सभा बैठक आह्वान गरेर आगामी बजेटका सन्दर्भमा पूर्व छलफल गराउने कार्यप्रति नेपाली कांग्रेस संसदीय दलको गम्भीर असहमति रहेको छ ।’
वैशाख २३ गते मुख्यमन्त्री खगराज अधिकारीले विश्वास मत लिँदा सभामुख कृष्ण धितालले बहुमत प्राप्त गरेको घोषणा गरेपछि कांग्रेस सर्वोच्च अदालत गएको थियो ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा ३० मत आए पनि सभामुख धितालले मुख्यमन्त्रीले बहुमत पाएको घोषणा गरेका थिए।

© 2026 All right reserved to samajpress.com | Site By : Sobij