२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक फिर्ता

राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक फिर्ता

काठमाडौं । सरकारले प्रतिनिधि सभाबाट राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक फिर्ता लिएको छ । मंगलबार निर्धारित समयभन्दा ढिलो सुरु भएको प्रतिनिधि सभा बैठकमा वेल घेरेर प्रमुख प्रतिपक्षी दल नारा लगाईरहेको थियो । त्यही समयमा सरकारले विधेयक फिर्ता लिएको हो ।

सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक २०८० सभामा पेश गर्न समय दिए । त्यसपछि मर्यादापालकको सुरक्षा घेरामा उभिएर गृहमन्त्री लामिछानेले सो विधेयक पेश गरे ।

त्यसपछि सभामुखले विधेयक फिर्ता लिने प्रस्तावमा कसैको विरोधको सूचना नपरेको उल्लेख गर्दै बहुमतले विधेयक फिर्ता लिन समर्थन गरेको घोषणा गरेपछि विधेयक फिर्ता भयो ।

तर, सो विधेयकबारे सभामुखले सांसदहरुको ध्यानाकर्षण गराउँदा सदनमा प्रतिपक्षी बेञ्चमा बसेका नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मात्र हात उठाएर असहमति जनाएका थिए ।

त्यस क्रममा प्रमुख विपक्षी नेपाली कांग्रेस सँगै राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरुले पनि उठेर विरोध गरिरहँदा सत्तारुढ सांसदहरु मात्र आआफ्नो सिटमा बसेका थिए । तर, सभामुख घिमिरेले विधेयकको विपक्षमा विरोधको मत नआएको भन्दै बहुमतले विधेयक फिर्ता लिएको घोषणा गरे । असहमति जनाउने एकजना सांसदको मतको गणना गरिएन ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij