काठमाडौं- गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले गरेको कामको पार्टीकै नेता कार्यकर्ताले सामाजिक सञ्जालमा प्रचार नगरेको भन्दै दुखेसो पोखेका छन् । उनले जारी केन्द्रीय समितिको बैठकमा यस्तो बताएका हुन् ।
‘गरेका कामको प्रचार भएन । राम्रा काम पनि भएका छन्,’ उनले भने, ‘पार्टी कार्यकर्ता कसैले स्टाटस लेखेनन् । प्रधानमन्त्रीसँग सल्लाह गरेरै अघि बढेको हो । यसको पार्टीले स्वामित्व लिनुपर्छ । भ्रष्टाचार विरोधी अभियानमा पार्टीकै भए पनि दोषीलाई छाडिदैन ।’
उपप्रधान तथा गृहमन्त्री समेत रहेको श्रेष्ठले सरकारको राम्रो कामका बलमा एकता, रूपान्तरण गरेर पार्टी पुनर्निर्माण गर्नुपर्ने बताए। यस्तै, सरकारले भ्रष्टाचारको फाइल खोलेका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै सल्लाहमा फाइल खोलेको बताए। छानबिनको क्रममा पार्टीभित्रकै दोषी देखिए कसैलाई नजोगाउने बताए।
सरकारले अहिले भ्रष्टाचार विरोधी अभियान चलाइरहेको छ। पछिल्लो समय सुन प्रकरणमा माओवादीकै नेताहरूको नाम जोडिएको छ। माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराका बाबुछोरा, उपमहासचिव वर्षमान पुनको पनि सुन प्रकरणमा जोडिएको छ। तर, उनीहरूले आफू संलग्न नभएको प्रष्टीकरण दिइसकेका छन्। यद्यपि, सरकारले छानबिन गरिरहेको छ।
प्रज्ञा भवन कमलादीमा जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक र संगठनात्मक प्रतिवेदनमाथि नेताहरूले आआफ्नो धारणा राख्ने क्रममा जारी छ। बुधवारको बैठकमा १८ जना बोलेका थिए।
नेताहरूले पार्टी पार्टी शुद्धीकरण तथा सुदृढीकरण गर्दै वामपन्थी एकतामा जोड दिएका थिए। भने सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानमा छानबिनको सुइँ जहाँसम्म गए पनि छाड्न नहुने र नेताहरूको पनि सम्पत्ति छानबिन गर्नुपर्ने कुरा उठाएका छन्।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij