काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले पार्टीको केन्द्रीय समितिको बैठकमा व्यक्ति विशेषको विरोध र बचाउ गर्ने काम आफ्नो नभएको बताएका छन् । प्रेस युनियन काठमाडौं शाखाको पदस्थापनमा बोल्दै नेता कोइरालाले पार्टीको केन्द्रीय समिति बैठकमा महामन्त्रीको डिफेण्ड नगरेको आरोप अर्थहीन भएको बताए । उनले कसैको विरोध गर्न वा कसैको बचाउ गर्न आफू राजनीतिमा नरहेको स्पष्ट पारे ।
‘कतिले मलाई भन्नुभो तपाईले महामन्त्रीलाई डिफेण्ड गर्नुभएन भनेर । मेरो भनाई छ, कसैको डिफेण्ड गर्न म कांग्रेसको केन्द्रीय सदस्य भएको होइन । हिजो सुशिल कोइरालाकै टिमबाट चुनाव जितेपनि सुशिल दाईले गरेका गलत निर्णयको मैले विरोध गरेको हुँ । केन्द्रीय समितिमा हामीले आफ्नो विवेक प्रयोग गर्ने हो । गुटका सबैले एउटै कुरा बोल्ने भए त एकजनाले बोले भैगो नि’, उनले भने ।
आफूले नेतृत्वको गलत कामलाई सधै विरोध गरेको स्मरण गराउँदै नेता कोइरालाले कसैलाई अनाहकमा गालीगलौज आफूले नगर्ने बताए । ‘मेरो परिवारले मलाई गालीगलौजको भाषा सिकाएको छैन । बरु गाली खाउ तर अरुलाई जथाभावी गाली नगर भनेर सिकाएको छ । मैले कसैलाई गाली नगर्दैमा मिल्यो भन्ने हुँदैन । सहमति वा विरोध एजेण्डामा हुन्छ’, उनले भने । आफूले केन्द्रीय समितिमा राखेको लिखित १५ बुँदे अभिव्यक्ति पढेर मात्रै धाराणा बनाउन उनले आलोचकहरुलाई सुझाव दिए ।
महामन्त्री गगन थापासँग राजनीतिक हिसाबले कुनै समस्या र विवाद नरहेको भन्दै सम्बन्ध बिगार्न केही तत्व लागेको बताए । ‘चौधौ महाधिवेशन सकिएलगत्तै हाम्रो बीचमा फाटो ल्याउन एउटा समूह सक्रिय भएर लागेको छ । यसबारे म जानकार छु’, शेखरले भने । उनले पार्टीको महाधिवेशन आउन अढाई वर्ष बाकी रहेकोले अहिले नै आत्तिन जरुरी नरहेको बताए ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij