काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक समितिका अध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय तोकिएको छ ।
आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले न्यौपानेलाई सजाय तोकेको हो । उनलाई बिगोको दोब्बर (२५ करोड ६९ लाख ७५ हजार ९११ रुपैयाँ) जरिवाना तोकिएको छ ।
उनको उमेर, स्वास्थ्य स्थितिलगायतलाई मध्यनजर गर्दै सो सजाय तोकिएको फैसलामा उल्लेख छ। न्यौपानेले कलेजको नाममा हुनुपर्ने १२ करोड ८४ लाख रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको भेटिएको गत चैत २५ गते विशेष अदालतले ठहर गरेको थियो ।
उनले कलेजको रकमबाट आफू र सञ्चालक समितिका अन्य सदस्यलाई तलब, भत्ता, गाडी र अन्य सुविधासमेत दिएको र आफ्नो आयस्रोतको आधारमा करसमेत नतिरेको ठहर छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij