२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

रसुवागढी नाकामा बढ्यो चहलपहल

रसुवागढी नाकामा बढ्यो चहलपहल

रसुवा : चीनसित जोडिएको उत्तरी नाका रसुवागढीमा चहलपहल बढेको छ। कोरोना महामारीपश्चात् आवतजावत बन्द भएको यो नाका गत चैत १८ गतेदेखि पुनःसञ्चालनमा आएपछि व्यापार तथा पर्यटकीय गतिविधि बढेको हो।

यो नाका भएर नेपाल भित्रिने चिनिया पर्यटकको सङ्ख्या दिन प्रतिदिन बढेको छ। अध्यागमन कार्यालय टिमुरेका कार्यालय प्रमुख चूडामणि अर्यालका अनुसार गत चैत १८ गतेदेखि असार मसान्तसम्म दुई हजार ८३७ चिनियाँ पर्यटक रसुवागढी नाका भएर नेपाल भित्रिएका छन्।

तीन महिनाको अवधिमा रसुवागढी नाकाबाट ४६ देशका नागरिक नेपाल भित्रिएको तथ्यांक छ। यो अवधिमा पाँच हजार २३६ महिलासहित १० हजार ६७७ पर्यटक उक्त नाका भएर नेपाल भित्रिएका अर्यालले जानकारी दिए।

कोरोना अवधिभर सुनसान रहेको रसुवागढी क्षेत्रबाट चिनियाँ पर्यटक नेपाल भित्रने र अन्य देशका पर्यटक चीनतर्फ प्रस्थान गर्न थालेपछि यो नाकामा चहलपहल बढेको छ। पर्यटकको आगमनले सीमा क्षेत्रका बासिन्दामा उत्साह थपिएको छ। रसुवागढी नाकाबाट रसुवाका बासिन्दा केरूङतर्फ जाने र चिनिया पनि टिमुरे तथा स्याफ्रुबेँसी घुम्न आउने गरेका छन्।

रसुवा–केरूङ ओहरदोहर गर्न अध्यागमन कार्यालय टिमुरेले १५० रसुवाका नागरिकलाई परिचयपत्र प्रदान गरेको छ। बसाइँ सरी आएको कागजातका आधारमा गत चैत १८ गतेदेखि असारको पहिलो हप्तासम्म ४१ नयाँ परिचयपत्र जारी गरिएको, ३३ जनालाई प्रतिलिपि प्रदान गर्नुका साथै ७६ जनाको परिचयपत्र नवीकरण गरिएको अध्यागमन कार्यालयले जनाएको छ।

२०७२ पछि हालसम्म नयाँ, प्रतिलिपि तथा नवीकरण गरी तीन हजार ३३३ जनाले सीमा परिचयपत्रको सुविधा लिएका छन्। भूकम्पकाले रसुवागढीस्थित अध्यागन कार्यालय भत्केपछि त्यहाँ रहेका अभिलेख नष्ट भएका थिए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij