२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

तीन दशकका अभ्यासहरुलाई सच्याउन समय लाग्छः गृहमन्त्री लामिछाने

तीन दशकका अभ्यासहरुलाई सच्याउन समय लाग्छः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अनावश्यक विदा र ‘भिआइपी सवारी’ का नाममा नागरिकले पाउने सास्ती हटाउन आफू लागिपरेको बताएका छन् ।

मंगलबार सामाजिक संजालमार्फत गृहमन्त्री लामिछानेले विगतका परम्परागत र नीतिगत निर्णय गरि त्यसलाई सच्याउने बताएका हुन् । उनले भनेका छन्, ‘विगतका कयौं निर्णय र परम्परा छन् जसलाई नितिगत निर्णय गरि सच्याउनु पर्छ । अनावश्यक विदा, ‘भिआइपी सवारी’ का नामको नागरिकले पाउने सास्ती, करोडौं खर्च गरेर दिइने पदक सम्मान, आममाफीका नाममा पहुँचवाला अपराधीलाई मात्र छुट, सुरक्षाकर्मीहरुलाई कामदार बनाउने परम्परा, केही भूतपूर्वहरुलाई दिइँदै आएको अभूतपूर्व सुविधा लगायतका तमाम विषयमा पदबहाल गरेको दिनदेखि नै लगातार काम गरिरहेको छु। रिजल्ट आउँदैछ। तर विधि नै नफेरिकन कुनै व्यक्ति, देश वा घटना हेरेर फरक फरक निर्णय गरिनु कुटनैतिक, राजनैतिक र वैधानिक हिसाबले सही हुन्न।’ उनले तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्ने बताएका छन् । उनले भनेका छन्, ‘जे कुरा हिजो गलत भनिएको थियो त्यो आजपनि गलत नै हो, हिजोका अभिव्यक्तिहरुको गोताखोरी गर्नै पर्दैन। तर तीन दशकका अभ्यासहरुलाई सच्याउन समय त लाग्छ। धेरै काम हुँदैछन्, थोरै धैर्य गरिदिनु भए पुग्छ।’

उनले लाखौं नेपालीलाई रोजगारी दिने कतारका राजाको नेपाल भ्रमणको स्वागत गर्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘विश्व अर्थराजनीतिमा नयाँ मानक स्थापित गर्दै रहेको, हाम्रा लाखौ युवाहरूलाई रोजगारीको अवसर दिइरहेको र नेपालसँग ऐतिहासिक कुटनैतिक सम्बन्ध स्थापित भएको मित्र राष्ट्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानी लाई नेपालमा ससम्मान स्वागत गर्दछु । लोकतन्त्रमा आफ्नो देशको नेतालाई नागरिकले आफ्ना कुरा मज्जाले भन्न पाउनु पर्छ। चासोका साथ प्रश्न र खबरदारी गरिदिनु हुने सबैप्रति आभार । लोकतन्त्र दिवसको सबैलाई शुभकामना ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij