काठमाडौं- पूर्वमिस नेपाल माल्भिका सुब्बाले श्रीमान् रियाज श्रेष्ठसँग डिभोर्सअघि चार वर्ष छुट्टै बसेको बताएकी छिन्। आफूहरुबीचको सम्बन्ध निकै बिग्रिएको र राम्रो नभएपछि चार वर्ष एक्लै बसेर डिभोर्स गरेको उनले प्रियंका कार्कीसँगको ‘पोडकास्ट’मा बताएकी हुन्।
उनले भनिन्, ‘म चार वर्षदेखि ‘सेपरेट’ बसिरहेको थिएँ। परिवारले पनि सहयोग गरेन। म एक्लैले बच्चालाई लिएर आफ्नो स्पेश क्रियट गरेँ।’ बिहेपछिको केही समयदेखि नै आफ्नो सम्बन्धमा दरार आएको खुलाउँदै बच्चा जन्माउने समयमा भने केही सुधार भएकाले योजना बनाएको खुलाएकी छिन्।
आफूले श्रीमान् वा साथीका रुपमा अपेक्षा गरेका कुराहरु नपाएको, व्यक्तिगत र सांस्कृतिक फरकपनले पनि सम्बन्धमा दरार सिर्जना गरेको उल्लेख गरेकी छिन्। उनले भनेकी छिन्, ‘आफैंले आफ्नो तरिकाले गर्न पाइनँ। परिवारको दायरामा बस्दा धेरै गाह्रो भयो।’
डिभोर्सपछि आफूलाई खाली महसुस भएको उल्लेख गर्दै डिभोर्स पेपरमा साइन गर्नुअघि निश्चित शर्त राखेको बताइन्। उनले भनेकी छिन्, ‘मैले साइन गर्नुअघि सोधेँ। मैले टालिरहेको थिएँ। तिमीले मसँग कम्युनिकेट गर्नुपर्छ।’
आफू त्यो समयमा मानसिक रुपमा निकै नराम्रो अवस्थाबाट गुज्रिएको बताइन्। मानसिक स्वास्थ्यका बारेमा उल्लेख गर्दै थपिन्, ‘म मेरो छोराका कारण बाँचिरहेको जस्तोसमेत महसुस भयो कुनैबेला।’
त्यसअघि आफू पोस्ट पार्टम डिप्रेसनबाट पनि गुज्रिएको खुलाएकी थिइन्। त्यो बेला थेरापिस्ट जाने कुरा नौलो भए पनि आफू गएको बताइन्।
उनले आग्रह गरिन्, ‘म गर्भवती महिलाका परिवारहरुलाई भन्न चाहन्छु- उहाँलाई आफ्नो तरिकाले बाँच्नु दिनुपर्छ। बच्चा आमाको बडीमा बस्छ।’
पितृसत्तात्मक सोच रहेकाले महिलाले आफ्नो बडीको बारेमा आफैंले निर्णय लिन्छु भन्दा नपच्ने गरेको उनले बताइन्।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij