काठमाडौँ- पाकिस्तान र श्रीलंकामा हुने एसियाकप २०२३ को तालिका सार्वजनिक भएको छ।
अगष्ट ३० देखि सेप्टेम्बर १७ सम्म हुने प्रतियोगिताको तालिका बुधबार सार्वजनिक भएको हो।
उद्घाटन खेलमा आयोजक पाकिस्तान र नेपाल भिड्ने भएका छन्। यो खेल पाकिस्तानको मुल्तानमा हुने छ।
५० ओभरको हुने खेलमा ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह ए मा आयोजक पाकिस्तान र भारत रहेका छन्।
समूह बी मा बंगलादेश, अफगानिस्तान र श्रीलंका रहेका छन्। एसियाकपको यो संस्करण पाकिस्तानले आयोजना गर्ने भएपनि भारत पाकिस्तानमा खेल्न नजाने भएका कारण चार खेल मात्रै पाकिस्तानमा हुने भएका छन्। बाँकी खेल श्रीलंकामा हुने भएको छ।
नेपालले अगष्ट ३० (भदौ १३) मा पाकिस्तानको सामना गरेपछि सेप्टेम्बर ४ (भदौ १८) मा भारतसँग खेल्ने छ। भारतसँगको खेल भने श्रीलंकामा हुने छ। भारतले कुनै पनि खेल पाकिस्तानमा खेल्ने छैन।
नेपाल र पाकिस्तान, बंगलादेश र अफगानिस्तान, अफगानिस्तान र श्रीलंका तथा सुपर फोरमा सेप्टेम्बर ६ मा हुने खेल पाकिस्तानको लाहोरमा हुनेछ। तर यो समूहमा भारत हुने छैन। बाँकी सुफर फोरपछिका सबै खेल श्रीलंकाको कोलम्बोमा हुनेछन्।
नेपाल रहेकै समूह ए का भारत र पाकिस्तान सेप्टेम्बर २ मा आमनेसामने हुनेछन्।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij