काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्च अदालतबाट आफूलाई न्याय मिलेको बताएका छन् । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रसाईले राज्यले १३ वर्षदेखि बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन नदिएर तड्पाइरहेकोमा अहिले आएर सर्वोच्चले न्याय दिएको बताएका हुन् ।
उनले न्याय मरेको छैन भन्ने कुरा सर्वोच्चले स्थापित गरेको बताए । उनले भने, ‘एलओआई दिएर पनि १३ वर्षदेखि हामीलाई तड्पाइराखेको थियो । न्याय मरेको छैन भन्ने कुरा सर्वोच्चले स्थापित गरेको छ। न्यायपालिकालाई धन्यवाद दिन चाहन्छु ।’
केही दिनअघि सर्वोच्च अदालतले प्रसाईंको रिटको पक्षमा आदेश सुनाएसँगै बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन लिन बाटो खुलेको थियो ।
त्यस्तै, उनले आफूले लाइन्सेस लिएको हतियारको पछि राज्य लागेको बताए । आफूले लिएको लाइसेन्समा देशभर जहाँ पनि लैजान पाइने लेखिएको स्पष्ट पारे ।
उनले मेडिकल कलेजको सम्बन्धन पाएपछि बैंकको ऋण तिर्ने समेत बताए । ‘मैले ‘एफिलेसन’ उपहार पाएको होइन । संघर्ष गरेर पाएको हो । मैले बैंकको पैसा तिर्दिन कहिल्यै भनेको छैन ।’
© 2026 All right reserved to samajpress.com | Site By : Sobij