२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

अमेरिकाको कोलोराडोमा नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

अमेरिकाको कोलोराडोमा नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा अमेरिकाको कोलोराडोमा सम्पन्न नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनले नेपाली भाषा, साहित्य र प्रवासी सृजनालाई अन्तर्राष्ट्रिय स्तरमा थप मजबुत बनाउने सन्देश दिएको छ। तीन दिनसम्म चलेको सम्मेलनमा नेपाल, अमेरिका, युरोप लगायत विभिन्न देशबाट आएका साहित्यकार, लेखक, पत्रकार तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सम्मेलनको उद्घाटन मदन पुरस्कार विजेता प्रमुख अतिथि डा. नवराज लम्साल, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, वर्तमान अध्यक्ष सर्वज्ञ वाग्ले तथा बोर्ड अफ ट्रष्टी सभापति पदम विश्वकर्माले संयुक्त रूपमा गरेका थिए। उद्घाटन समारोहमा बोल्दै डा. लम्सालले नेपालको सीमाभन्दा बाहिर सिर्जना भइरहेको नेपाली साहित्यलाई अलग राखेर नेपाली साहित्य पूर्ण हुन नसक्ने उल्लेख गर्दै प्रवासी स्रष्टाहरूको योगदानलाई महत्वपूर्ण मानेको बताए।
सम्मेलनका क्रममा मदन पुरस्कार विजेता साहित्यकार डा. नीलम कार्की निहारिका, समालोचक महेश पौडेल र आचार्य राजन लगायत विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।
अनेसासका अध्यक्ष सर्वज्ञ वाग्लेको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा कोलोराडो च्याप्टरका अध्यक्ष किरण अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन महासचिव राजु सिटौला र कोषाध्यक्ष तारा अधिकारीले गरेका थिए।
तीन दिनसम्म चलेको सम्मेलनमा ‘इतिहासमा आख्यान र आख्यानमा इतिहास’, नेपाली भाषा–साहित्यको प्रवर्द्धनमा प्रवासी पत्रकारिताको भूमिका लगायत विविध विषयमा गहन छलफल, विमर्श र प्रस्तुति राखिएको थियो। नेपाली डायस्पोरामा भाषा, साहित्य, पत्रकारिता र सांस्कृतिक पहिचानलाई कसरी अझ सशक्त बनाउने भन्ने विषयमा समेत विशेष बहस भएको थियो।
कार्यक्रममा एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सतेन्द्र साह, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, ख्यातिप्राप्त साहित्यकार डा. ज्याकलिन केरबेक, रेड ओ लाफ्लिन, राधेश्याम लेकाली, लेखक सुधीर शर्मा, बसन्त बस्नेत, बबिता बस्नेत, बिपुल पोखरेल, नारायण श्रेष्ठ, नेपाल अमेरिका पत्रकार समाज (नेजा) का अध्यक्ष सुरज भण्डारी लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
नेपाल, अमेरिका, युरोप लगायत विभिन्न देशबाट आएका करिब २०० भन्दा बढी साहित्यकार, लेखक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिताले सम्मेलनलाई अझ व्यापक र प्रभावशाली बनाएको देखिएको छ।
समग्रमा, यस सम्मेलनले नेपाली भाषा, साहित्य र प्रवासी सृजनालाई विश्वमञ्चमा थप उचाइ दिनुका साथै स्रष्टाहरूबीच सहकार्य, वैचारिक आदान–प्रदान र सांस्कृतिक एकताको भावना अझ बलियो बनाउने महत्वपूर्ण सन्देश दिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij